अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशलाई विकास हुन नदिने शक्तिले हाम्रो अभियान रोक्ने प्रयास गरे: अध्यक्ष ओली

देशलाई विकास हुन नदिने शक्तिले हाम्रो अभियान रोक्ने प्रयास गरे: अध्यक्ष ओली


काठमाडौँ-नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले नेपाली विशेषताको समाजवाद निर्माणको अभियानमा अघि बढिरहेको बताएका छन्।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा आयोजित मनोनीत केन्द्रीय सदस्यहरूको सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्ग अस्तित्वमा रहेसम्म वर्गसंघर्ष पनि कायम रहने उल्लेख गर्दै सुरक्षा, समृद्धि र सम्मानसहितको समाज निर्माणमार्फत सुखी नेपाली बनाउन सकिने धारणा राखे।

अध्यक्ष ओलीले गरिबी निवारण असम्भव विषय नभएको उल्लेख गर्दै विश्वका विभिन्न देशहरूले व्यवहारमै गरिबी घटाएर समाजलाई उच्च उपलब्धिको तहमा पुर्‍याएको बताए।

‘गरिबी हटाउन नसकिने विषय होइन। विभिन्न देशहरूले गरिबी हटाएर व्यवहारिक रूपमा गरिबी निवारणका उपलब्धिहरू हासिल गरिसकेका छन्,’ अध्यक्ष ओलीले भने, ‘कतिपय देशहरूले चरम गरिबी नै अन्त्य गरिसकेका छन्। हाम्रो देशमा पनि हामी लगभग चरम गरिबी हटाउने अवस्थासम्म पुगेका थियौँ, तर देशलाई विकास हुन नदिने तत्त्वहरूले हाम्रो अभियानलाई रोक्ने प्रयास गरे।’

अध्यक्ष ओलीले एमाले जिम्मेवार राज्य र जिम्मेवार अर्थतन्त्रको पक्षमा रहेको दाबी गर्दै समाजका कुनै पनि वर्ग र समुदाय विकासको मूलधारबाट बाहिर नपरोस् भन्ने उद्देश्यसहित पार्टीले काम गरिरहेको बताए।

अध्यक्ष ओलीले सबै नागरिकको सहभागिता, अवसर र सम्मान सुनिश्चित गर्ने अभियान असाधारण रहेको उल्लेख गर्दै एमालेका विचार उन्नत, सामाजिक र जनमुखी रहेको दाबी गरे।