अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्मचारीको व्यवस्थित सरुवा प्रणाली मेरै कार्यकालमा: मन्त्री मोदी

कर्मचारीको व्यवस्थित सरुवा प्रणाली मेरै कार्यकालमा: मन्त्री मोदी


काठमाडौं – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले निजामति कर्मचारीको व्यवस्थित सरुवा प्रणाली आफ्नै कार्यकालमा सुरु गर्ने प्रतिबद्धता जनाउनुभएको छ।

मन्त्रालयमा आज सञ्चारकर्मीसँगको अन्तक्रियामा उहाँले कर्मचारीको सरुवाकै विषयमा धेरै ध्यान केन्द्रित गर्दा अरु काम प्राथमिकतामा पर्न नसकेकाले व्यवस्थित सरुवा प्रणाली स्थापित गर्ने गृहकार्य भइरहेको जानकारी दिनुभयो ।

विसं २०७५ माघदेखि संसद्मा विचाराधीन रहेको निजामति सेवा विधेयक छिट्टै पारित गर्ने गरी काम अघि बढाइएको उहाँको भनाइ छ । ‘विधेयकमा मन्त्रालयको दृष्टिकोण दिइसकेका छौँ, कर्मचारी प्रशासन अब तहगत प्रणालीमा चल्ने भएको छ, कर्मचारी ६० वर्षे उमेर हदसम्म सेवामा बहाल रहने भएका छन्’, उहाँले भन्नुभयो ।

उहाँले दुर्गम क्षेत्रमा काम गर्नेको कार्य सम्पादनसम्बन्धी छुट्टै व्यवस्था गरिने र आगामी पिँढीका लागि सुशासन कायम गराउन निजामती सेवा विधेयकमा राम्रा व्यवस्था गरिएको उहाँको भनाइ छ।

देशभरका दुई सयभन्दा बढी स्थानीय तह निमित्त प्रमुख प्रशासकीय अधिकृतका भरमा चलिरहेकामा आफू मन्त्री नियुक्त भई आएपछि ९० जनालाई सरुवा गरी पठाएको जानकारी पनि कार्यक्रममा उहाँले गराउनुभयो ।

निजामति अस्पतालमा सुधार गर्ने विषयलाई पनि आफूले प्राथमिकतामा राखेर काम गरिरहेको मन्त्री मोदीको भनाइ छ । मन्त्रालयले निजामति अस्पताललाई सातै प्रदेशमा विस्तार गर्ने, राष्ट्रिय कलाकार, राष्ट्रिय खेलाडी, राष्ट्रिय व्यक्तित्व, शिक्षक र सहिद एवं बेपत्ता परिवारका सदस्यलाई पनि निजामति अस्पतालमा छुटमा उपचार गर्ने व्यवस्थाका लागि गृहकार्य भइरहेको जानकारी उहाँले बताउनुभयो ।

मन्त्रालयको पुनःसंरचना गरी कर्मचारी प्रशासनलाई सुशासनयुक्त र भ्रष्टाचारमुक्त बनाउने योजनालाई पनि प्राथमिकतामा राखिएको कार्यक्रममा जानकारी गराइएको थियो । मन्त्रालयलाई चुस्त रुपमा अघि बढाउन सबैबाट सुझाव लिएर अघि बढ्ने प्रतिबद्धता मन्त्री मोदीको थियो ।

Skip This