काठमाडौं – देशभरिमा सेवाग्राहीको बढी चाप हुने यातायात कार्यालयमा पर्ने एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय, चालक अनुमतिपत्र कार्यालयले बिहान ८ बजेदेखि नै सेवा सुरु गर्ने तयारी गरेको छ।
कार्यालयमा सधैँ कार्यालय समयभन्दा घण्टौँ पहिले नै सेवाग्राही लाममा हुने गरेकाले भीडभाड व्यवस्थापनका लागि बिहान चाँडै सेवा सुरु गर्ने योजना बनाइएको कार्यालयले जनाएको छ । बिहान ८ बजेदेखि खुल्दा सेवाग्राही लाममा बस्नु नपर्ने र उनीहरुले थोरै समयमा काम गरिसक्ने कार्यालयका प्रमुख राजकुमार कपालीले बताउनुभयो । उहाँले भन्नुभयो, “लाममा बस्न नपरेपछि बिचौलियाले पनि ठग्न पाउँदैनन् । आउँछन् र खुरुखुरु जान सक्छन् ।”
बिहानदेखि सेवा सुरु अहिले छलफल भइरहेको कार्यालयले जनाएको छ । सेवा प्रवाह कार्यालय समयमा हुने भए पनि सेवाग्राही बिहान छ बजेदेखि लाममा बस्ने गरेको उहाँले बताउनुभयो । सेवाग्राहीलाई बुझाउन नसकिएको १० बजेसम्म दुई सय जना लाममा बस्ने उहाँले बताउनुभयो । प्रमुख कपालीले भन्नुभयो, “ताला लगाए पनि बाहिरैबाट लाम हुने गरेको छ ।”
कार्यालयले दैनिक तीनदेखि साढे तीन सय टोकन बाँड्ने गरेको छ । त्योबाहेक टाढाबाट आएको जाममा परेको वा तुरुन्त अनुमतिपत्र चाहिने सेवाग्राहीलाई टोकन नभए पनि अवस्था हेरेर सेवा दिइने प्रमुख कपालीले बताउनुभयो । उहाँले भन्नुभयो, “समस्या रहेकालाई टोकन विना ५० देखि एक सयसम्मलाई दिने गरिएको छ ।”
कार्यालयमा अहिले दरबन्दीअनुसार नै जनशक्ति कार्यरत रहेका छन् । विसं २०७२ को दरबन्दीअनुसार ३५ जना रहेकामा र करारबाट २२ जना कार्यरत रहेका छन् । कार्यालयको व्यस्त समय ११ देखि २ बजेसम्म जनशक्ति कमी महसुस हुने भए पनि अरू समयमा जनशक्ति पर्याप्त नै हुने गरेको उहाँले बताउनुभयो । सेवाग्राहीको भीडभाड बिहानी समयमा बढी भए पनि दिउँसो कम रहेको छ । उहाँले भन्नुभयो, “३ बजेपछि कार्यालय नै सुनसान हुन्छ ।”
यातायात कार्यालय सधैँ नै सेवाग्राहीको भीडभाड बढी हुने कार्यालयका रुपमा रहेको छ । पहिले सङ्घीय सरकारअन्तर्गत रहेको कार्यालय अहिले प्रदेश सरकारको अन्तर्गत गएको छ । कार्यालयहरुले केही वर्षदेखि टोकन प्रणाली सुरु गरे पनि सेवाग्राही घण्टौँ लाममा बस्नु परेको छ।






प्रतिक्रिया