विराटनगर – नेपाली सेनाले निर्माण गरेको ‘विराट राजा प्राचीन दरबार सङ्ग्रहालय’ विराटनगर महानगरपालिकालाई हस्तान्तरण गरेको छ।
आइतबार एक कार्यकमका बीच उक्त संग्राहालय महानगरलाई हस्तान्तरण गरिएको हो । विराटनगर–१८ भेडियारीमा सेनाको पहलमा भैरव गण मोरङले ऐतिहासिक सम्पदालाई संरक्षण, सम्वद्र्धन गर्ने उद्देश्यका साथ १९ लाख ७६ हजार रुपैयाँको लागत र सैनिकहरुको श्रमदानमा संग्रहालय निर्माण गरिएको जनाइएको छ।
एक कठ्ठा जग्गामा २०७९ कात्तिक २१ गतेबाट निर्माण सुरु गरी चार महिनाको अवधिमा उक्त सङ्ग्रहालय भवनको निर्माण कार्य सम्पन्न गरेको नेपाली सेनाले जनाएको छ।
दरबार खोज तथा संरक्षण समितिका कमलकिशोर यादवको अध्यक्षतामा भएको संग्रहालय भवन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले विराट राजाको दरबार क्षेत्र धार्मिक र सांस्कृतिक पर्यटनको प्रचुर सम्भावना रहेको बताउनुभयो। संग्रहालय निर्माण गरेर महानगरलाई हस्तान्तरण गरेकोमा नेपाली सेनालाई कोइरालाले धन्यवाद दिनुभयो ।
सङ्ग्रहालयमा विराट राजाको समयमा प्रयोगमा ल्याइएका विभिन्न भाँडाकुडा, सामग्री एवं मुद्राहरु राखिएका छन् । महाभारत कालमा आठ बिघा तीन कठ्ठा १७ धुर क्षेत्रफल जग्गामा फैलिएको यो क्षेत्र राजा विराटको राजधानी तथा मत्सेय देशको नामले चिनिने गरेको पाइएको किवदन्ती रहेको छ । पाँच पाण्डव र उनीहरुको श्रीमती द्रोपति गुप्तबासको दौरान नाम परिवर्तन गरी विराट राजाको दरबारमा लुकेर बसेको भनाइ रहेको छ । उक्त क्षेत्रलाई विभिन्न कालखण्डबाट संरक्षण गर्दै आइरहेको छ ।
२०२७ नेपाल सरकारको पुरातत्व विभागले यस स्थानमा उत्खनन् गरी प्राचीनकालमा प्रचलनमा रहेको पञ्चमार्क नामक चाँदीको मुद्रा ४० वटा भेटिएपश्चात यो क्षेत्र प्राचीन महाभारतकालमा विराट राज्यको राजदरबार भएको तथ्य पत्ता लागेको थियो ।






प्रतिक्रिया