काठमाडौं-अस्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय विद्यार्थी भिसा प्रणालीमा थप कडाइ गर्दै नयाँ नियम लागू गरेको छ। आप्रवासनको संख्या नियन्त्रण गर्ने तथा विद्यार्थी भिसाको दुरुपयोग रोक्ने उद्देश्यले अक्टोबर २ देखि नयाँ व्यवस्था कार्यान्वयनमा ल्याइएको हो।
नयाँ नियमअनुसार अस्ट्रेलियामा रहेका अधिकांश अस्थायी भिसावाहक तथा विद्यार्थीहरूले अब सहज रूपमा त्यहीँबाट अर्को विद्यार्थी भिसाका लागि आवेदन दिन पाउने छैनन्। उनीहरूले नयाँ विद्यार्थी भिसाका लागि आफ्नो देश वा अस्ट्रेलियाबाहिरबाट आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ।
यसअघि भिसा परिवर्तन गर्ने, कोर्स फेर्ने वा एउटै तहका साना कोर्सहरू बारम्बार रोजेर लामो समयसम्म अस्ट्रेलियामा बसिरहने प्रवृत्ति देखिएको भन्दै सरकारले त्यसलाई रोक्न नियम कडा बनाएको जनाएको छ। अब विद्यार्थीहरूले सुरु गरेको कोर्सलाई निरन्तरता दिनुपर्नेछ र सामान्य कारणले पटक–पटक कोर्स परिवर्तन गर्न नपाइने व्यवस्था गरिएको छ।
यद्यपि, हाल अध्ययनरत विद्यार्थीले आफ्नो कोर्स सफलतापूर्वक पूरा गरी उच्च तहको अध्ययनका लागि अघि बढ्न चाहेमा भने अस्ट्रेलियाभित्रैबाट अर्को विद्यार्थी भिसाका लागि आवेदन दिन सक्ने व्यवस्था कायम राखिएको छ। साथै, हालको कोर्स पूरा गर्न १२ महिना वा सोभन्दा कम समय बाँकी रहेका र भिसाको म्याद थप्नुपर्ने अवस्थाका विद्यार्थीलाई केही छुट दिइएको छ।
नयाँ नियमले डिपेन्डेन्ट (आश्रित) भिसामा समेत कडाइ गरेको छ। अब विद्यार्थी भिसा आवेदनमा पति/पत्नी वा आश्रित सन्तानलाई समावेश गर्ने प्रक्रिया सीमित बनाइएको छ। विशेषगरी पीएचडी वा सरकार प्रायोजित केही अध्ययन कार्यक्रमबाहेक अन्य सामान्य कोर्समा अध्ययन गर्ने विद्यार्थीहरूले परिवारका सदस्यलाई सँगै लैजान वा भिसा स्वीकृत भएपछि पछि थप्न कठिन हुने भएको छ।
शिक्षा तथा आप्रवासन क्षेत्रका जानकारहरूका अनुसार नयाँ व्यवस्थाले अस्ट्रेलियामा अध्ययनको तयारी गरिरहेका तथा त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरूलाई प्रत्यक्ष असर पार्नेछ। विद्यार्थीहरूले अब कोर्स छनोट, भिसा योजना र अध्ययन यात्राबारे थप सावधानीपूर्वक निर्णय गर्नुपर्ने अवस्था सिर्जना भएको छ।



प्रतिक्रिया