काठमाडौँ-जनमत पार्टीका अध्यक्ष डा। सिके राउतले राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सफल रहेको उल्लेख गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत राष्ट्रपति भण्डारीको कार्यकाल सफल रहेको भन्दै प्रशंसा गर्नुभएको हो ।
उहाँले भन्नुभयो, ‘राष्ट्रपति विद्या देवी भण्डारीज्यू सात वर्ष राष्ट्रियअध्यक्षको जिम्मेवारी बहन गरेर आज बिदा हुँदै हुनुहुन्छ। पछिल्लो समयमा नागरिकता विधेयक सम्बन्धी हाम्रो केही असहमति रहे तापनि उहाँले सफलता, जिम्मेवारी र सदाशयतापूर्वक आफ्नो कार्यकाल सम्पन्न गर्नुभएको छ।’
अध्यक्ष राउतले राष्ट्रपतिको स्थान आफैँमा प्रेरणाको स्रोत रहेको भन्दै गाउँमा आमजनताको घरमा जन्मेको व्यक्ति त्यसमा पनि एकल महिला राष्ट्राध्यक्ष हुन सबै नेपालीका लागि प्रेरणा भएको उल्लेख गर्नुभएको छ ।
उहाँले भन्नुभयो, ‘एकल महिला राष्ट्राध्यक्ष हुन पाउनु आफैँमा सबै नेपालीको लागि प्रेरणा हो, यो नै गणतान्त्रिक व्यवस्थाको सुन्दरता हो। अझ हामी जस्ता साधारण गरिब जनताका छोराछोरीहरू राष्ट्राध्यक्षको निवाससम्म गएर भेट्न सक्नु, सीधै कुरा राख्न सक्नु वा अझ जलपान समारोहमा बोलाइनु त्यो गणतान्त्रिक र लोकतान्त्रिक व्यवस्थामा मात्रै आज सम्भव भएको छ ।’
यस्तै उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका तेस्रो राष्ट्रपति रामचन्द्र पौडेललाई सफल कार्यकालको लागि पनि शुभकामना दिनुभएको छ ।






प्रतिक्रिया