अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निफमा श्यामश्वेत चलचित्र

निफमा श्यामश्वेत चलचित्र


काठमाडौँ । यसै वर्षको भदौमा प्रदर्शन भएको चलचित्र ‘द सेक्रेट्स अफ राधा’ लाई नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिबल (निफ)मा श्यामश्वेत संस्करणमा प्रदर्शन गरिने भएको छ ।

सार्वजनिक प्रदर्शनमा आइसकेको चलचित्रको ‘डाइरेक्टर कट’ स्वरुपलाई महोत्सवमा देखाउने तयारी गरिएको निर्देशक सुवर्ण थापाले जानकारी दिनुभयो । “महोत्सव संस्करण हलमा प्रदर्शन भएको भन्दा फरक छ । यहाँ व्यावसायिक पाटोको दबाब नभएको हुँदा कलात्मक पाटो हावी छ”, निर्देशक थापाले भन्नुभयो । चलचित्रलाई छायाङ्कनकै क्रममा र¬ङ्गीन र श्यामश्वेत दुई संस्करणमा खिचिएको थियो । 

सार्वजनिकरुपमै श्यामश्वेत संस्करण प्रदर्शन गर्ने तयारी भए पनि सम्भव भएको थिएन । अभिनेत्री सृष्टि श्रेष्ठको शीर्ष भूमिका रहेको चलचित्रमा पतिको खोजीमा निस्किएकी पत्नीको कथा देखाइएको छ । 

यस्तै, महोत्सावमा अभिनेत्रीद्वय प्रियङ्का कार्की र माल्भिका सुब्बा र निर्देशक रेनाशा राईले ‘आमा नायिका : जिम्मेवारी र करिअर’ विषयमा चर्चा गर्ने तय भएको छ । आयोजक संस्थाका अध्यक्ष केपी पाठकले अभिनेत्रीले आफ्नो मातृत्व दायित्वसँगै विविध पक्षमा चर्चा गर्ने जानकारी दिनुभयो । “हामीले चलचित्र र समाजलाई जोड्न विभिन्न सेसनको तयारी गरेका छौँ । यसले आगामी दिनमा फाइदा पुग्नेमा विश्वस्त छु”, अध्यक्ष पाठकले भन्नुभयो ।  जिओपलिटिक्स् (भूराजनीति)का सम्बन्धमा समेत महोत्सवमा छलफल हुनेछ । 

चलचित्रमा जिओपलिटिक्सले पारेको र पार्ने प्रभावमाथि सेसन केन्द्रित हुने आयोजकले जनाएका छन् । ‘भूराजनीतिमा सिनेमाको भूमिका’ विषयक सेसनमा निर्देशक प्रकाश सायमी, राजनीतिज्ञ डा लिला न्याइच्याईं, युनेस्कोका डा रोशन यादव र प्राध्यापक खड्ग केसीले आफ्नो विचार राख्नुहुनेछ । पैँतीस देशका चलचित्रकर्मीको प्रतिनिधित्व हुने महोत्सवमा छनोट भएका ९५ प्रतियोगी चलचित्रको प्रदर्शन गरिनेछ । ‘ओपनिङ फिल्म’को रुपमा कोरिन शर्मा निर्देशित चलचित्र ‘चरी’ (अप्रतियोगी) प्रदर्शन हुनेछ ।