काठमाडौं-नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकार जनताको अपेक्षा पूरा गर्न असफल भएको आरोप लगाउँदै लोकतन्त्र, राष्ट्रियता र युवाको भविष्यप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले बालेन्द्र शाह नेतृत्वको सरकारले पनि जनतामा आशा र विश्वास जगाउन नसकेको दाबी गरे। उनले देशको राष्ट्रियता इतिहासमै कमजोर अवस्थामा पुगेको टिप्पणी गर्दै राष्ट्रिय मुद्दामा सबै राजनीतिक दल एकजुट हुनुपर्ने आवश्यकता औँल्याए।
‘अनुहार बदल्दैमा परिवर्तन हुँदैन, वास्तविक बदलावका लागि नयाँ राजनीतिक क्रान्तिको आवश्यकता छ,’ महासचिव पोखरेलले भने।
महासचिव पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रिय मुद्दामा राजनीतिक दलहरूलाई एक ठाउँमा ल्याउने प्रयास गरिरहेको उल्लेख गर्दै सरकार भने राजनीतिक दल, संसद् र नागरिकसँग संवाद गर्न असफल भएको आरोप लगाए।
‘सरकार राजनीतिक दलसँग संवाद गर्दैन, संसद्सँग संवाद गर्दैन, नागरिकसँग पनि संवाद गर्दैन। चुनौतीको सामना गर्ने संकल्पसमेत देखिँदैन,’ महासचिव पोखरेलले भने, “यस्तो अवस्थामा भविष्यका प्राकृतिक विपद् र अन्य संकटहरूको सामना कसरी गर्ने भन्ने गम्भीर प्रश्न खडा भएको छ।’
महासचिव पोखरेलले लोकतन्त्रको भविष्यप्रति समेत शंका उत्पन्न भएको बताउँदै जनताबाट निर्वाचित प्रधानमन्त्रीले आफ्नै संसदीय दल, संसद् र नागरिकको आवाज नसुन्ने अवस्था सिर्जना भएको दाबी गरे। सरकारको कार्यशैलीलाई उनले “स्वेच्छाचारी प्रवृत्तितर्फ उन्मुख” भएको टिप्पणी गरे।
‘हामी लोकतन्त्रको भविष्यतर्फ अघि बढिरहेका छौँ कि स्वेच्छाचारी शासनतर्फ भन्ने प्रश्न उठिरहेको छ,’महासचिव पोखरेलले भने, ‘लोकतन्त्रका लागि संघर्ष गरेको नेपाली कांग्रेसले लोकतन्त्रको रक्षाका विषयमा कसरी भूमिका खेल्छ भन्ने अहिलेको महत्त्वपूर्ण प्रश्न हो।’
महासचिव पोखरेलले लोकतान्त्रिक मूल्य-मान्यताको संरक्षण, जनताको आवाजको सम्मान तथा राष्ट्रिय मुद्दामा सहकार्यका लागि कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे। साथै कांग्रेसको १५औँ महाधिवेशनले जनभावना र समसामयिक राष्ट्रिय चुनौतीलाई सम्बोधन गर्ने नयाँ राजनीतिक एजेन्डा अघि सार्ने अपेक्षा पनि व्यक्त गरे।
युवापुस्तामा बढ्दो निराशाप्रति चिन्ता व्यक्त गर्दै उनले युवाका सपना र आकांक्षा पूरा गर्न सबै राजनीतिक दलले साझा जिम्मेवारीका साथ काम गर्नुपर्ने बताए।
‘युवाहरूलाई निराश हुन दिनु हुँदैन। उनीहरूका सपना पूरा गर्ने जिम्मेवारी हामी सबै राजनीतिक दलको हो,’ उनले भने।
पोखरेलले सूचना प्रविधि तथा आधुनिक नेपालको निर्माणमा नेपाली कांग्रेस र एमालेले महत्त्वपूर्ण योगदान दिएको उल्लेख गर्दै लोकतन्त्रको रक्षा, राष्ट्रिय हितको संरक्षण र विकासका एजेन्डामा दुई दलबीच पुनः सहकार्य आवश्यक रहेको धारणा राखे।



प्रतिक्रिया