काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपाली कांग्रेस र एमालेबीचको सहकार्यबाट लोकतन्त्रको रक्षा गर्दै देशको मुहार परिवर्तन गर्न सकिने बताएका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले कांग्रेस सभापति गगनकुमार थापाको नेतृत्वलाई सकारात्मक रूपमा लिँदै विगतमा गणतन्त्र स्थापनाका लागि भएको आन्दोलनमा आफूहरू सँगै संघर्ष गरेको स्मरण गरे।
महासचिव पोखरेलले त्रिचन्द्र क्याम्पसबाट सुरु भएको राजनीतिक यात्रामा गगन थापा र आफूहरू एउटै लोकतान्त्रिक आन्दोलनको पक्षमा उभिएको उल्लेख गर्दै कांग्रेसको नेतृत्वमा नयाँ पुस्ताको आगमनलाई सकारात्मक संकेतका रूपमा व्याख्या गरे।
‘गगनकुमार थापा गणतन्त्र स्थापनाका लागि भएको आन्दोलनमा हामीसँगै थियौँ। त्रिचन्द्र क्याम्पसको सभाबाट हामी सँगै उभिएका थियौँ। अहिले कांग्रेसको नेतृत्वमा आउनुभएको छ, यो अत्यन्त सकारात्मक कुरा हो,’ महासचिव पोखरेलले भने।
राणा शासन, पञ्चायती व्यवस्था तथा तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनविरुद्ध कांग्रेस र एमालेले संयुक्त रूपमा संघर्ष गरेको स्मरण गर्दै उनले आगामी दिनमा पनि लोकतन्त्रको सुदृढीकरणका लागि दुई दलबीच सहकार्य आवश्यक रहेको बताए।
‘अब फेरि पनि मिलेर लोकतन्त्रको रक्षा र देशको मुहार फेर्न लाग्नुपर्ने समय आएको छ। राणा शासन, पञ्चायत र ज्ञानेन्द्र शासनविरुद्ध हामीले संयुक्त रूपमा संघर्ष गरेका थियौँ। अब पनि लोकतन्त्रको रक्षाका लागि कांग्रेससँग सहकार्य गरेर अघि बढ्नेछौँ,’ उनले भने।
महासचिव पोखरेलले वर्तमान सरकार राजनीतिक दलहरूसँग पर्याप्त छलफल र सहकार्य नगरी अघि बढिरहेको आरोप पनि लगाए। प्रधानमन्त्रीले संसद् र जनताका आवाज नसुन्ने अवस्था सिर्जना भएको दाबी गर्दै उनले सरकारको कार्यशैलीलाई स्वेच्छाचारी प्रवृत्तितर्फ उन्मुख भएको टिप्पणी गरे।
महासचिव पोखरेलले लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण तथा जनताको आवाजलाई स्थापित गर्न कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।
युवापुस्तालाई निराश हुन नदिन सबै राजनीतिक दलले साझा जिम्मेवारीका साथ काम गर्नुपर्नेमा जोड दिँदै पोखरेलले युवाका सपना र आकांक्षा पूरा गर्न राजनीतिक शक्तिहरू एकजुट हुनुपर्ने बताए।
‘युवाहरूलाई निराश हुन दिनु हुँदैन। उनीहरूका सपना पूरा गर्ने जिम्मेवारी हामी सबै राजनीतिक दलको हो,’ उनले भने।
महासचिव पोखरेलले कांग्रेसको १५औँ महाधिवेशनले जनताको भावना र समसामयिक राष्ट्रिय मुद्दालाई सम्बोधन गर्ने नयाँ राजनीतिक एजेन्डा अघि सार्ने विश्वास व्यक्त गरे। साथै सूचना प्रविधि तथा आधुनिक नेपालको निर्माणमा कांग्रेस र एमालेले महत्वपूर्ण योगदान दिएको पनि उनले उल्लेख गरे।



प्रतिक्रिया