अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कानूनी जटिलता विकासको अवरोध बनेको छ: अध्यक्ष ओली

कानूनी जटिलता विकासको अवरोध बनेको छ: अध्यक्ष ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जटिल र झन्झटिलो कानूनी प्रक्रियाका कारण जनताले सजिलै न्याय पाउन नसकेको बताउनुभएको छ।

नेपाल ल क्याम्पसको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुले आज यहाँ आयोजना गरेको ‘कानूनका विद्यार्थीसँग केपी ओली’ कार्यक्रममा अध्यक्ष ओलीले नागरिकको न्यायमा सहज पहुँचका लागि कानूनी जटिलताहरू हटाउनपर्ने बताउनुभयो ।’

कार्यक्रममा विद्यार्थीसँगको अन्तरक्रियामा उहाँले भन्नुभयो, ‘आजको विश्वमा हरेक क्षेत्रमा नियम कानूनले चल्छ र चल्नपर्छ । तर नियम कानूनको यति जञ्जाल बनेको छ कि त्यो पार गरिसक्दासम्म काम गर्ने समय सकिन्छ । प्रशासनिक ढिलासुस्ती पनि कानूनी प्रक्रियाका कारणले भैरहेको छ । कतिपय कानून र कानूनी प्रक्रियाले विकासका काममा अवरोध पुर्याएको छ ।’

उहाँका अनुसार कानूनको सहज कार्यान्वयनको परिस्थिति हुनुपर्छ । ‘कानूनको उपयोगिता र सहज कार्यान्वयन दुवै हुनपर्छ । अन्यथा कानूनी प्रक्रियाको जटिलताले समाजको अग्रगमन, प्रगति, विकास, सुशासन र न्याय प्राप्तिलाई अप्ठ्यारोमा पार्छ’, उहाँले भन्नुभयो ।

विद्यार्थीहरुले अध्यक्ष ओलीद्वारा प्रतिनिधिसभा विघटनको प्रयास, देशको आर्थिक अवस्था, बेरोजगारी, कानून कार्यान्वयनमा राजनीतिक हस्तक्षेप, पार्टी तथा नेतृत्वको भूमिका र समीक्षाका विषयमा जिज्ञासा राखेका थिए । जवाफमा अध्यक्ष ओलीले आफू नेतृत्वको तत्कालीन सरकारले अर्थतन्त्र सुधारमा उल्लेख्य भूमिका खेलेको जवाफ दिनुभयो ।

अध्यक्ष ओलीले नयाँ पुस्ता सकारात्मक र ऊर्जाशील हुनुपर्ने बताउँदै विश्वविद्यालयमा गैरशैक्षिक क्रियाकलाप नगर्न समेत सुझाव दिनुभयो । कानून निर्माण, कार्यान्वयन र न्यायका लागि पहल गर्दा सबै पक्षमा ध्यान दिनुपर्ने उहाँको भनाइ थियो । उहाँले कानूनका विद्यार्थीले भविष्यमा न्यायका लागि पहल गर्दा कुनै प्रकारको डर त्रास, लोभ र प्रलोभनमा नपर्न जोड दिनुभयो ।