काठमाडौं-पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा ‘समाजवादी जागरण अभियान’ गठन गरिएको छ। सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत अभियानको औपचारिक घोषणा गर्दै खनालले कम्युनिस्ट आन्दोलनको वैचारिक पुनर्गठन, वाम शक्तिको एकता र समाजवादी रूपान्तरणका लागि अभियान अघि बढाइएको बताएका हुन्।
अभियानको हालै सम्पन्न पहिलो बैठकले १५ बुँदे प्रस्ताव पारित गरेको जानकारी दिँदै नेता खनालले मुलुकको वर्तमान राजनीतिक, आर्थिक, सामाजिक तथा राष्ट्रिय परिस्थितिलाई दृष्टिगत गर्दा बृहत् वाम एकता आजको आवश्यकता भएको बताए।
पारित प्रस्तावमा कम्युनिस्ट तथा वामपन्थी शक्तिहरू विभिन्न समूहमा विभाजित र कमजोर बन्दै गएको तथा देश सामाजिक, आर्थिक, सांस्कृतिक र राष्ट्रियताको गम्भीर चुनौतीबाट गुज्रिरहेको उल्लेख गरिएको छ। साझा जनहित र राष्ट्रिय हितका सवालमा सबै वामपन्थी शक्तिलाई एकताबद्ध हुन अभियानले आह्वान गरेको छ।
अभियानले कम्युनिस्ट आन्दोलनलाई क्रान्तिकारी वैचारिक तथा राजनीतिक कार्यदिशाका आधारमा पुनर्गठन र पुनर्संरचना गर्नुपर्ने आवश्यकता औंल्याएको छ। प्रस्तावमा सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारी शक्तिलाई सही वैचारिक तथा राजनीतिक आधारमा एकताबद्ध गर्दै एकीकृत क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माणको दिशामा अघि बढ्न आग्रह गरिएको छ।
यसका लागि कम्युनिस्ट आन्दोलनका विगतका अनुभव, उपलब्धि, कमजोरी तथा चुनौतीहरूको गम्भीर समीक्षा गर्दै संगठनात्मक पुनर्गठन र एकीकरणको प्रक्रिया अघि बढाउनुपर्ने अभियानको निष्कर्ष छ।
यस्तै, अभियानले ‘नेपाली विशेषताको समाजवाद’ सम्बन्धी विषयमा खुला वैचारिक बहस सञ्चालन गर्नुपर्ने आवश्यकता पनि औंल्याएको छ। वैचारिक, सैद्धान्तिक, संगठनात्मक, कार्यशैलीगत, पद्धतिगत तथा आचरणगत विषयमा खुला, नीतिनिष्ठ र रचनात्मक बहसमा सहभागी हुन सम्पूर्ण समाजवादी तथा क्रान्तिकारी शक्तिलाई आग्रह गरिएको छ।
अभियानले समाजवादी रूपान्तरणको लक्ष्य हासिल गर्न वैचारिक स्पष्टता, संगठनात्मक एकता र साझा राजनीतिक कार्यदिशा अपरिहार्य रहेको निष्कर्ष प्रस्तुत गरेको छ।
खनालको नेतृत्वमा सुरु भएको अभियानमा यसअघि नेकपा (माओवादी केन्द्र)बाट बाहिरिएका नेता हरिबोल गजुरेललगायत विभिन्न वामपन्थी धाराका नेताहरू सहभागी रहेको जनाइएको छ।



प्रतिक्रिया