अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभामुख घिमिरे स्वदेश फिर्ता

सभामुख घिमिरे स्वदेश फिर्ता


काठमाडौं – अन्तर व्यवस्थापिका संघ (आईपीयु) को १४६ औँ महासभामा सहभागी भई सभामुख देवराज घिमिरे बिहीबार साँझ स्वदेश फर्किनुभएको छ। 

उहाँ आज साँझ ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किनुभएको हो। उहाँसँगै नेपालबाट गएको नौ सदस्यीय प्रतिनिधि मण्डल स्वदेश फर्किएको हो। स्वदेश फर्किएपछि विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख घिमिरेले महासभामा नेपालबाट ठूला मुलुकले साना मुलुकलाई हेप्ने र पक्षपात गर्ने कुराहरुमा विशेष जोड दिएको बताउनुभयो। 

उहाँले जातीय, वर्गीय कुरालाई नयाँं ढंगबाट लैजाने कुरामा आफूले आवाज उठाएको बताउनु भयो। उहाँले नेपालको असंलग्न परराष्ट्रनीतिका बारेमा पनि जानकारी गराएको बताउनुभयो। उहाँले महासभामा अस्ट्रेलियाका सभामुखसँग दुई देशबीचको सम्बन्धका बारेमा विशेष छलफल भएको बताउनुभयो। 

उहाँले भन्नुभयो, ‘विश्वमा आइरहेका विभिन्न समस्या र ठूला मुलुकले साना मुलुकलाई हेप्ने र विभिन्न हिसाबले फरक रुपले पक्षपात गर्ने कुरालाई कसरी एकीकृत ढंगबाट लैजान सकिन्छ, र जातीय, वर्गीय कुरालाई नयाँ ढंगबाट लैजाने कुरालाई हामीले राख्यौँ। यसमा विश्वको ध्यान तानिएको। असंलग्न परराष्ट्र नीतिका बारेमा पनि जानकारी गरायौँ। हामी बुद्धका देशका सांसदहरु हौँ र हामीले तटस्थ रहनुपर्छ भन्नेकुरा राखेपछि त्यसले पनि आकर्षण गर्ने काम गरेको छ।’

सभामुख घिमिरेले सरकारले विश्वासको मत लिनु सामान्य कुरा रहेको बताउनुभयो। त्यस्तै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले महासभामा शान्तिपूर्ण सहअस्तित्व र समाज समावेशी गर्ने विषयलाई बढावा दिने कुरा आफूले उठाएको बताउनुभयो। 

उहाँले महासभामा जलवायु परिवर्तनसम्बन्धी मुद्दालाई पनि विशेष रुपमा उठाएको बताउनुभयो।