अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपराष्ट्रपतिमा जसपाका यादव निर्वाचित

उपराष्ट्रपतिमा जसपाका यादव निर्वाचित


काठमाडौँ – उपराष्ट्रपति पदमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार रामसहाय प्रसाद यादव निर्वाचित हुनुभएको छ।

शुक्रबार भएको निर्वाचनमा जसपाका उम्मेदवार यादव ३० हजार ३२८ मतभारका साथ उपराष्ट्रपति निर्वाचित हुनु भएको हो ।उहाँले संघीय संसद्‌तर्फ १४ हजार ५३६ र प्रदेशसभातर्फ १५ हजार ७९२ मतभार पाउनु भयो ।

प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका सांसदले उपराष्ट्रपतिमा मत दिएका हुन् । प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभा गरी कुल मतभार ५२ हजार ६२८ रहेको छ । यादवले त्यसको बहुमत अर्थात् २६ हजार ३१४ मतभारभन्दा बढी मत ल्याई निर्वाचित भएका हुन् ।

यस्तै नेकपा एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यले प्रदेशतर्फ ८ हजार ११२ र संघीय संसद्‌तर्फ ८ हजार २१६ गरी कुल १६ हजार ३२८ मत प्राप्त गर्नुभयो ।

यस्तै जसपाबाट उपराष्ट्रपतिकी अर्की उम्मेदवार प्रमिला कुमारीले प्रदेशतर्फ ४८ मतभार अर्थात् १ सांसदको मत पाउनु भएको छ । सत्ता गठबन्धनको आधिकारिक उम्मेदवार रामसहायप्रसाद यादव बनेकाले प्रमिलाले आफ्नो उम्मेदवारी निष्क्रिय भएको घोषणा गर्नुभएको थियो ।

उपराष्ट्रपतिमा निर्वाचित यादव बारा-२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत हुन् । उहाँ जसपाका संसदीय दलका नेतासमेत हुन् । विक्रम संवत २०२७ सालमा बाराको कलैयामा जन्मिएका यादवले बीएस्सी, बीएडसम्मको अध्ययन गरेका छन् । शिक्षण पेसा त्यागेर उहाँले २०४६ सालपछि नेपाल सद्भावना पार्टीबाट राजनीतिक यात्रा सुरु गर्नुभएको थियो ।