काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकले विधुतमा व्यापार गर्ने बेला अझै नभएको बताउनुभएको छ । ६ रुपियाँमा प्रतियुनिटमा विद्युत विक्री गरेर त्यसको दोब्बर मूल्य १२ रुपियाँमा विद्युत खरिद गर्नु गलत भएको उहाँको भनाइ छ ।
आज शुक्रबार काठमाडौंमा आयोजित नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको ११ औं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा उहाँले सो कुरा बताउनुभएको हो । भारतले आफ्नो बार्गेनिङ क्षमता माथि पार्न विद्युत आवश्यक नभएको गलत प्रचार गर्नेगरेको उहाँले टिप्प्णी गर्नुभयो । नेपाल त्यसको भ्रममा पर्न नहुने पनि उहाँको आग्रह छ ।
अध्यक्ष ओलीले मुलुकभित्रै उद्युत खपत गरेर, उत्पादनमूलक उद्योगको स्थापना गरेपछि मात्रै विक्रीको कुरा गर्न उपयुक्त हुने धारणा राख्नुभयो । भारतले अढाई रुपियाँमा प्रतियुनिट आफ्नो जनतालाई विद्युत दिनेगरेको तर नेपाललाई भने प्रतियुनिट १२ रुपियाँमा बेच्ने काम गरेर अन्याय गरेको उहाँले बताउनुभयो ।
नेपाल र नेपालीहरु त्यस्तो अन्याय सहन नहुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘विद्युत निर्यात किन गर्नु प¥यो ? पहिले नेपालमै खपत गरौं । यहाँ रोजगारी सिर्जना गरौं । उत्पादन उद्योगलाई अघि बढाऔं । हाम्रो राष्ट्रिय खपत क्षमता वृद्धि गरौं । अनि मात्रै व्यापारका कुरा गरौंला ।’
हाम्रो विद्युत सस्तोमा किन्नका लागि भारतले नकिन्ने हौवा फैलाउने गरेको अध्यक्ष ओलीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘नचाहिएर कसैले किन्छ ? उसकहाँ विद्युत आवश्यक्ताभन्दा बढी भइसक्यो भने कुनै हालतमा पनि कुनै सर्तमा अनि सित्तै दिए पनि लिदैन । कसैले पनि आफूलाई चाहिएको छैन भने किन्दैन । भ्रममा नपरौं । चाहिएको छ, त्यसकारण किनीराखेको छ ।’
हाम्रो विद्युत क्षमता आवश्यक्ताभन्दा बढी विकास भइसक्यो भन्ने कुरा गलत भएको उहाँले बताउनुभयो । ‘हाम्री आमा कति बाठी ? ६ मा बेची, १२ मा किनी । अनि हामीलाई ऊर्जा व्यापारको चिन्ता छ हामी यो भन्न सक्दैनौ । यत्रो ऊर्जाको देश एक ११२ वर्ष अगाडि हामीभन्दा १३ वर्ष अघि इन्डियाले सुरु गरेको थियो’ अध्यक्ष ओलीले भन्नुभयो । चीनले पनि हामीभन्दा केही अघि तर सानो स्केलमा ऊर्जा उत्पादन सुरु गरेको उहाँले चर्चा गर्नुभयो ।




प्रतिक्रिया