काठमाडौं – प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले व्यवसायमैत्री कानून निर्माणमा आफू सधैं तयार रहेको बताउनुभएको छ।
उद्योग व्यवसायमैत्री कानून निर्माण गर्न राजनीतिक दलहरू र सांसदसँग सहजीकरण गर्न पनि आफू लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
शनिबार ललितपुर उद्योग वाणिज्य सङ्घले स्थापना दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले मुलुकभित्रै उत्पादन वृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने, नेपालमा हुने आयात प्रतिस्थापन गरी निर्यात बढाउन कानुन अभाव हुन नदिन आफू सचेत रहेको बताउनुभयो।
व्यापार गरी नाफा कमाउनु व्यवसायीहरूको धर्म भए पनि सामाजिक उत्तरदायित्व बहनगरी मुलुकको दिगो विकासमा अझ बढी योगदान गर्न पनि उहाँले व्यवसायीलाई आग्रह गर्नुभयो।
सभामुख घिमिरेले भन्नुभयो, ‘मुलुकको आर्थिक क्षेत्रमा असजिलो परिरहेको परिस्थितिप्रति हामी जानकार छौँ ।’
आर्थिक क्षेत्रको योगदान दिइरहनु भएको तपाई उद्योगी, व्यवसायीको अप्ठ्यारो र असजिलो अवस्थाले व्यापार र रोजगार प्रणालीलाई कसरी अगाडि लैजाने भन्ने कुरामा म तपाईँहरूको यी अप्ठ्याराप्रति ऐक्यबद्धता व्यक्त गर्छु उहाँले भन्नुभयो । यसबीचमा पनि उद्यमी र व्यापारीलाई अगाडि लैजान निजी क्षेत्रलाई कसरी अगाडि लैजानुपर्छ भन्ने यहाँहरूले सरकारमार्फत गरेका कोसिसलाई अझै व्यवहारिक रूपबाट राज्यले भूमिका खेल्नुपर्ने उहाँको भनाइ छ।
‘उद्योग व्यवसायको प्रवर्धनका लागि नेपालका जनप्रतिनिधिको संस्था संसद् हो । संसद्ले यहाँ आएर ऐक्यबद्धता जनाउनुपर्छ’ सभामुख घिमिरेले भन्नुभयो, ‘तपाईँहरूको समस्यालाई सुन्नुपर्छ भनेर म यहाँ आएको छु, मुलुकभित्र उत्पादनमा वृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने, राष्ट्रिय आयमा वृद्धि गर्ने र नेपालमा हुने आयातलाई प्रतिस्थापन गरी निर्यातलाई वृद्धि गर्न तपाई उद्योगी, व्यवसायीहरूको योगदान महत्त्वपूर्ण छ ।’




प्रतिक्रिया