अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभामुखसँग बेलायती सांसदको भेट

सभामुखसँग बेलायती सांसदको भेट


काठमाडौं– सभामुख देवराज घिमिरेसँग आइतबार बेलायतको लेबर पार्टीका सांसद वीरेन्द्र शर्माले भेट गर्नुभएको छ । सभामुख कार्यकक्षमा भएको भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय अनुभव आदान प्रदान लगायतका विषयमा छलफल भएको छ ।

भेटमा सभामुख घिमिरेले नेपाल र बेलायत पुराना मित्र भएको बताउँदै कुटनीतिक सम्बन्ध स्थापना भएको २०० औं वर्षगाँठ भव्यरुपमा मनाउन बेलायतले गरेको तयारीप्रति खुसी व्यक्त गर्नुभयो । उहाँले बेलायतबाट नेपालको विकासका लागि ठूल्ठूला सहयोग भएको बताउँदै आगामी दिनमा निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो ।

सभामुख घिमिरेले कोभिड १९ महामारीमा बेलायती सांसदमा नेपाललाई सहयोग गर्नेबारे कुरा उठेको स्मरण गर्दै शिक्षा, स्वास्थ्य, पर्यटन, जनस्रोतका क्षेत्रमा लगानीको वातावरण बनाउन ध्यानाकर्षण गराउनुभयो ।

भेटमा सांसद शर्माले सभामुख घिमिरेलाई अनुकूल समयमा बेलायत भ्रमणका लागि निम्तो दिँदै औपचारिक पत्र पठाउने जानकारी दिनुभयो । उहाँले नेपाल र बेलायतबीच २ सय वर्ष पुरानो सम्बन्ध रहेको बताउँदै आगामी दिनमा सम्बन्ध झन् बलियो हुने उल्लेख गर्नुभयो ।
सांसद शर्माले बेलायतमा गोर्खा समस्या समाधानमा आफूले पटक पटक कुरा उठाएको बताउँदै मुद्दा पुनरावलोकनको काम भइरहेको जानकारी दिनुभयो । बेलायतको सर्वदलीय संसदीय समितिका नेपाल अध्यक्षसमेत रहनुभएका शर्मा नेपालमा सञ्चालित विकास परियोजनाको अनुगमन गर्न काठमाडौं आउनुभएको हो । उहाँको यो छैटौं नेपाल भ्रमण हो ।