काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट विश्वासको मत लिनुभएको छ। सोमबारको प्रतिनिधि सभा बैठकबाट प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुभएको हो ।
विश्वासको मतको प्रस्तावको पक्षमा १७२ र विपक्षमा ८९ मत परेको छ। सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठकमा विश्वासको मतको पक्ष र विपक्षमा भएको मत विभाजनको परिणाम सार्वजनिक गर्नुभएको हो।
प्रचण्डलाई नेपाली कांग्रेससहितका ११ दलले विश्वासको मत दिएका हुन्। उहाँलाई नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले मत दिएनन्। नेपाल मजदुर किसान पार्टी तटस्थ बस्यो।
उहाँले प्रधानमन्त्री भएपछि संसद्बाट दोस्रो पटक विश्वासको मत लिनु भएको हो ।
सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। त्यही व्यवस्थाअनुरुप प्रधानमन्त्रीले यही चैत १२ गतेसम्ममा विश्वासको मत लिइसक्नुपर्ने थियो।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहाल गत पुस १० प्रधानमन्त्रीमा नियुक्त हुनु भएको थियो । प्रधानमन्त्री दाहालले पहिलोपटक गत पुस २६ गते सदनबाट ९९ प्रतिशतभन्दा बढी विश्वासको मत प्राप्त गर्नुभएको थियो ।
प्रधानमन्त्रीलाई विश्वासको मतका लागि १३८ सांसदको मत आवश्यक पर्थ्यो। प्रतिनिधिसभामा माओवादी केन्द्रको ३२, कांग्रेसको ८८, रास्वपाको १९, जसपा ११, एकीकृत समाजवादी १०, जनमत पार्टी छ, लोसपा चार, नागरिक उन्मुक्तिको चार र जनमोर्चा एक सांसद छन्।
प्रतिनिधिसभामा एमालेको ७९, राप्रपाको १४, स्वतन्त्र दुई, नेमकिपा र आमजनता पार्टीका एक सांसद छन्। उनीहरु विश्वासको मतको विपक्षमा उभिएका छन्।






प्रतिक्रिया