अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति प्रतिवद्ध छु: सभामुख घिमिरे

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति प्रतिवद्ध छु: सभामुख घिमिरे


काठमाडौं सभामुख देवराज घिमिरेले आज साँझ नेपाल पत्रकार महासंघका पदाधिकारीसँग छलफल गर्नुभएको छ। सभामुखको कार्यकक्ष सिंहदरवारमा भएको छलफलमा सञ्चारमैत्री कानुन निर्माण, सभामा रहेका सञ्चारसँग सम्बन्धित विधेयकहरुको अवस्थालगायतका विषयमा छलफल भएको उहाँको सचिवालयले जनाएको छ । 

भेटमा महासंघको प्रतिनिधिमण्डलले चैत ३ गते महासंघसँग भएको शुभकामना आदान प्रदान कार्यक्रममा सभामुखबाट व्यक्त धारणाले सञ्चारकर्मीको आत्मसम्मानमा चोट परेकोप्रति ध्यानाकर्षण गराउनुभएको थियो । सभामुख घिमिरेले संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आफ्नो प्रतिबद्धतामा कहिल्यै कमी नआउने बताउनुभयो । 

उहाँले शब्द चयन नमिलेका कारण सञ्चारकर्मीमा परेको असरप्रति आफू चिन्तित रहेको बताउँदै संसद र प्रेससँगको सम्बन्ध सुमधुर हुनुपर्नेमा आफू सदैव चनाखो रहेको सभामुख घिमिरेले जोड दिनुभएको उहाँका प्रेस संयोजक शेखर अधिकारीले बताउनुभयो । 

सभामुख घिमिरेले सञ्चारकर्मीका लागि संसद सदा खुला रहने बताउँदै सञ्चारसँग सम्बन्धित कानुन निर्माण गर्दा महासंघसहित सरोकारवालासँग छलफल गर्ने बताउनुभयो ।

भेटमा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, महासचिव रोशन पुरी र कोषाध्यक्ष कलेन्द्र सेजुवालको उपस्थिति थियो ।