अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पत्रकारको हितमा आमसञ्चार विधेयक: मुख्यमन्त्री अधिकारी

पत्रकारको हितमा आमसञ्चार विधेयक: मुख्यमन्त्री अधिकारी


कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पत्रकारको हित हुने गरी नै प्रदेश सरकारले आमसञ्चार विधेयक अघि बढाउने बताउनुभएको छ।

अनलाइन पत्रकार सङ्घ गण्डकीको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनको आज पोखरामा उद्घाटन समारोहमा उहाँले पत्रकारको हितमा सञ्चार विधेयक ल्याउने प्रतिबद्धता जनाउनुभएको हो । सरकारले आमसञ्चार विधेयक संसद्मा दर्ता गरेर पनि विचाराधीन अवस्थामा राखेको छ । विधेयक कहिले अघि बढ्छ भन्ने बारेमा भने उहाँले केही उल्लेख गर्नुभएन।

मुख्यमन्त्री अधिकारीले अनलाइन समाचारले समाजमा नकारात्मक प्रभाव पारेको बताउँदै व्यवस्थित बनाउनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘अनलाइन पोर्टलको सङ्ख्या बढ्दै जाँदा गुणस्तरीयतामा ख्याल गरिएको देखिँदैन। कतिपय अनलाइन समाचारले समाजमा नकारात्मक प्रभाव पार्ने गरेको छ । अनलाइन मिडियालाई नियमन गर्न आवश्यक छ।’

पत्रकारिता क्षेत्र गुणस्तरीय नहुँदा सोको असर अन्य क्षेत्रमा समेत पर्ने भएकाले मिडियालाई व्यवस्थित बनाउन मिडिया साक्षरता कार्यक्रम सञ्चालन गर्न मुख्यमन्त्रीले आग्रह गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य सरिता तिम्सिना पँगेनीले पत्रकार क्षेत्रको उन्नयनका लागि केही गर्न सके नै लोकतन्त्रको अनुभूति हुने बताउनुभयो। पत्रकारका मुद्दाहरूलाई सरकारले सुनवाइ गर्नुपर्नेमा उहाँको जोड थियो।

पत्रकार महासङ्घ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदीले प्रदेश सरकारले ल्याउन लागेको आमसञ्चार विधेयक पत्रकारमैत्री हुनुपर्ने बताउनुभयो । कास्की शाखाका अध्यक्ष विमला भण्डारीले अनलाइन मिडियामा आएका समस्यालाई समाधान गर्दै आमसञ्चार मिडियालाई प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो ।

अध्यक्षमा बराल

अनलाइन पत्रकार सङ्घ गण्डकीको अध्यक्षमा ढाका मोहन ९गणेश० बराल सर्वसम्मत चयन हुनुभएको छ। सङ्घको आज सम्पन्न अधिवेशनले बरालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । उपाध्यक्षमा सन्तोष बस्याल, सचिवमा प्रह्लादचन्द्र घिमिरे र कोषाध्यक्षमा चन्द्रिका घिमिरे ९अनिता० चयन हुनुभएको छ ।

यसैगरी, सदस्यहरूमा सुरेशराज अधिकारी, सरिता गुरुङ, प्रवीण मगर, निरज बसौला, ऋषिराम दाहाल, सञ्जय आचार्य, दीपकराज गिरी, शेखर कोइराला, शिव न्यौपाने, रोहित बास्तोला रहनुभएको छ ।

कार्यक्रममा सहभागी पत्रकारहरूले अनलाइन सञ्चारमाध्यम दर्तादेखि नवीकरणसम्मको काम झन्झटिलो रहेको उल्लेख गर्दै गण्डकी प्रदेशको राजधानी पोखरामा नै नवीकरण गर्ने व्यवस्था मिलाउने गरी नीति बनाउन आग्रह गरेका थिए ।