काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संवैधानिक आयोगहरुका काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ।
अध्यक्ष तिमिल्सिनाले संवैधानिक आयोगहरुलाई जागिर खाने थलोको रुपमा विकास गर्न नहुनेतर्फ पनि सचेत गराउनु भयो । मंगलबार मुस्लिम आयोगले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सबै समुदायको प्रतिस्पर्धी क्षमता विकासका लागि गठन गरिएका संवैधानिक आयोगहरुले सोही अनुसार काम गर्नुपर्ने स्पष्ट पार्नुभयो ।
अध्यक्ष तिमिल्सिनाले आफ्नो परिभाषित जिम्मेवारीलाई कुशलतापूर्वक सम्पन्न गरेर आफ्नो औचित्य पुष्टि गर्न पनि सबै संवैधानिक आयोगहरुलाई आग्रह गर्नुभयो ।
अध्यक्ष तिमिल्सिनाले संवैधानिक आयोगहरु अनन्त कालसम्मका लागि नभएको उल्लेख गर्दै केही वर्ष भित्रै त्यसको आवश्यक नहुने गरी काम गर्नुपर्ने पनि स्मरण गराउनु भयो । उहाँले आयोगका लागि आवश्यक स्रोत, साधनको व्यवस्था गर्ने काममा कन्जुस्याइँ नगर्न सरकारको समेत ध्यानाकर्षण गराउनु भयो ।
कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले नागरिकका हक, अधिकारको संरक्षण र सम्वद्र्धन गर्न आयोग प्रतिबद्ध रहेको बताउनु भयो । उहाँले सबै संवैधानिक आयोगहरुसँग सहकार्य र समन्वय गरेर आयोगले आफ्नो कामलाई अघि बढाइरहेको दाबी समेत गर्नुभयो ।




प्रतिक्रिया