अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारले गर्ने लगानी उत्पादकत्व वृद्धिमा केन्द्रित हुनुपर्छ: मुख्यमन्त्री कार्की

सरकारले गर्ने लगानी उत्पादकत्व वृद्धिमा केन्द्रित हुनुपर्छ: मुख्यमन्त्री कार्की


मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले गर्ने लगानी उत्पादकत्व वृद्धि गर्नमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ।

भौतिक पूर्वाधार विकास मन्त्रालय, विराटनगर महानगरपालिका र उद्योग सङ्गठनको संयक्त लगानीमा विराटनगर–१७ रानी भन्सार एक नम्बर गेट क्षेत्रमा निर्माण गरिने आकाशे पुल र स्वागतद्वारको आज शिलन्यास गर्दै उहाँले भन्नुभयो, ‘सरकारले गर्ने लगानीले उत्पादन वृद्धि गर्नुपर्छ ।’

मुख्यमन्त्री कार्कीले सरकारले निर्माण गर्ने संरचना र परियोजनाको लगानीले मुख्यरुपमा उत्पादन वृद्धि, व्यापार घाटा न्यूनीकरण, आयात प्रतिस्थापन एवं रोजगारको प्रबन्ध गर्नुपर्ने प्रष्ट पार्नुभयो । उहाँले सरकारले निर्माण गर्ने संरचनाको सौन्दर्यकरण भएमा आम नागरिकले प्रचारप्रसार गरी गर्वको अनुभूति गर्ने विचार राख्नुभयो ।

मुख्यमन्त्री कार्कीले सरकारले आगामी नीति तथा कार्यक्रम एवं बजेटमार्फत पाँचभित्र गरिने विकासका कार्यले जनताले सुखद अनुभूति गर्ने बताउनुभयो । सरकार अब कुनै किसिमको अलमलमा नलाग्ने उल्लेख गर्दै उहाँले सरकारको थैलीको आकारका आधारमा विकास निर्माण कार्यको प्राथमिकता तोक्ने बताउनुभयो ।

भौतिक पूर्वाधार विकासमन्त्री दुर्गाप्रसाद चापागार्इंले प्रदेशमा विकासका कार्यले गति लिन सुरु गरेको दाबी गर्दै प्रदेशको विविध क्षेत्रको झल्को दिनेगरी द्वारको निर्माण गरिने जानकारी दिनुभयो ।

विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्कीले नगर बनाउन तीव्र रुपमा कार्य भइरहेको र आगामी दुई वर्षभित्र जनताले नयाँ नगरको रुपमा अनुभूति गर्ने धारणा राख्नुभयो । सहरी विकास तथा भवन कार्यालयका रुद्रनारायण मिश्र, नेपाल उद्योग परिसङ्घका भीम घिमिरेले निर्माण गरिने संरचना गुणस्तरीय एवं समय सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । 

उक्त पुल एवं स्वागतद्वार निर्माणका लागि प्रदेश सरकारको ७०, महानगरको २५ र सङ्गठनको पाँच प्रतिशत गरी रु.छ करोड २५ लाख २४ हजार ९४४ मा ह्यावीट्याट–आशिसदीप जेभी भद्रपुरले आगामी दुई वर्षभित्र सम्पन्न गर्ने जनाएको छ ।