काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भारतबाट नेपालमा टेलिफोन गर्दा लाग्दै आएको महसुल दर घटाउन भारत सरकारसँग आग्रह गर्नुभएको छ । नयाँ दिल्लीमा बुधबार भएको भारतीय समकक्षीसँगको द्विपक्षीय बैठकमा उनले यस्तो आग्रह गर्नुभएको हो ।
‘नेपाल र भारतबीच टेलिफोन दरमा ठूलो असमानता छ, भारतमा बोसोबास गर्ने नेपालीहरूले नेपालमा टेलिफोन गर्दा अत्यधिक शूल्क लाग्ने गरेको गुनासो गर्ने गरेका छन्,’ उहाँले भन्नुभयो, ‘दुबै देशबीच रहेको टर्मिनल चार्जमा पुनरावलोकन गरी सुलभ महसुल दरमा सेवा उपलब्ध गराउनुपर्ने देख्छु ।’
नेपाल-भारत नजिकका छिमेकी भएकाले दूरसञ्चार सेवामा बेलाबखत अन्तरदेशीय अवरोध हुने र कतिपय अवस्थामा नेपालको भित्री भागसम्म पनि भारतीय मोबाइल सेवा उपलब्ध हुने गरेकाप्रति ध्यानाकर्षण गराउँदै मन्त्री शर्माले भन्नुभयो, ‘यसमा दुवै देशका सेवाप्रदायक र नियामक सजग हुनुपर्ने देख्दछु।’
सञ्चारमन्त्री शर्माले भारतीय टेलिभिजन च्यानलहरू नेपालमा सहजै प्रसारण हुने तर नेपाली च्यानलहरू भने भारतमा प्रसारण हुन कठिन रहेकातर्फ ध्यानाकर्षण गराउँदै मन्त्री शर्माले भन्नुभयो, ‘भारतमा नेपालीभाषीको ठूलो सङ्ख्या रहेकोले नेपाली च्यानलहरूको सहज प्रसारण हुने वातावरण मिलाइदिन म विशेष आग्रह गर्छु। विशेषतः नेपाली च्यानल भारतमा डाउनलिंक गर्दा अत्यधिक शुल्क लाग्ने गरेकाले यो सम्भव नभएको हुँदा यसमा भारतीय सरकारबाटै विशेष निर्देश हुन म आग्रह गर्दछु।’
नेपालमा दक्ष जनशक्ति उत्पादन गर्न भारत सरकारले लामो समयदेखि विभिन्न विषयमा छात्रवृत्ति उपलब्ध गराउँदै आएको र वर्तमान परिप्रेक्ष्यमा नेपाललाई सूचना प्रविधिका क्षेत्रमा थप दक्ष जनशक्ति आवश्यक हुन थालेकाले त्यस्ता शैक्षिक कार्यक्रममा नेपाललाई सहयोग गर्न पनि उनले भारत सरकारसँग अनुरोध गर्नुभयो ।






प्रतिक्रिया