काठमाडौँ – सिंहदरबारभित्र पुतली बगैँचामा निर्माण थालिएको नयाँ सङ्घीय संसद् भवन पूरा गर्न निर्माण व्यवसायीले एक वर्ष थप गर्न माग गरेका छन् । विसं २०७६ असोजमा संसद् भवन तीन वर्षमा निर्माण गर्ने गरी तुँदी सेक जेभी र सहरी विकास तथा भवन निर्माण विभागबीच सम्झौता भएको थियो । निर्माण कम्पनीले कोरोना सङ्क्रमणको कारण देखाएर छ महिना म्याद थप गराएअनुसार यही चैत मसान्तसम्म निर्माण गर्नुपर्नेमा भित्री संरचना पूरा हुननसकेकाले अझै एक वर्ष समय माग गरेको हो।
उक्त विभागअन्तर्गतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालका उपनिर्देशक दीपक श्रेष्ठले भवन पूर्णरूपमा सम्पन्न गर्न निर्माण व्यवसायीको प्रस्ताव प्रक्रियामा रहेको बताउनुभयो । ‘निर्माण व्यवसायीले अनुमानित थप एक वर्ष माग गरेका छन्। जनशक्ति व्यवस्थापन गरी छ महिनाभित्र सम्पन्न गर्न विभागले प्रयास गरेको छ । एकवर्ष समय दिने या नदिने विषयमा भने अन्तिम निर्णय भएको छैन’, उहाँले भन्नुभयो ।
उपनिर्देशक श्रेष्ठले बाह्य संरचना बने पनि भित्री संरचना, फिनिसिङ, साजसज्जाको काम बाँकी रहेको जानकारी दिनुभयो । छ महिना समय थप गरेअनुसार चैतमा सम्पन्न हुनुपर्नेमा हाल ६२ प्रतिशत काम भएको र पूर्णरुपमा निर्माण गरी सञ्चालनमा आउन थप एक वर्ष लाग्ने उहाँको भनाइ थियो । कूल रु पाँच अर्ब ६७ करोड २६ लाख ९भ्याटसहित०को लागतमा यो भवन बनाउने ठेक्का निमार्ण कम्पनी तुँदीले पाएको थियो । चौबिस हजार तीन सय ८० स्क्वायर मिटर ग्राउन्ड एरियामा १२ वटा भवन निमार्ण हुनेछन् भने कूल जमिन एरिया भने ७७ हजार छ सय ५१ स्क्वायर मिटर रहेको उपनिर्देशक श्रेष्ठको भनाइ थियो ।
संसद् भवनको स्वरूप आधुनिक र प्रविधिमैत्री ढङ्गले गरिएको छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण गरिएका भवनको वास्तुकला तथा स्वरूप काठमाडौंको परम्परागत वास्तुकला झल्कने खालको छ । संसद् भवन परिसरभित्र निर्माण गरिएका कार्यालयका सबै भवन एक अर्कासँग जोडेर निर्माण गरिएको छ । निर्माण भएका भवन तीनदेखि पाँच तलासम्मका छन् ।
हाल सङ्घीय संसद् सचिवालयले सहरी विकास मन्त्रालयअन्तर्गतको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई संसद् भवनमा बनाइ वार्षिक रु साढे १४ करोड भाडा बुझाउँदै आएको छ । विसं २०७६ असोज १ मा तत्कालीन प्रधानमन्त्री केपीशर्मा ओलीले संसद् भवन शिलान्यास गर्नुभएको थियो ।
नयाँ सङ्घीय भवनमा पुस्तकालय
सहरी विकास मन्त्रालयको गुरुयोजनाअनुसार उत्तर पश्चिम भागमा रहेको पुस्तकालय भवनको उत्तरतर्फ क्याटिन, दक्षिणतर्फ तल्लो सदन, पश्चिम र पूर्वी भागमा खुल्लाक्षेत्र राखिएको छ । आयोजनास्थलको कूल क्षेत्रफल ८८ हजार दुई सय ७१ दशमलव चार वर्गमिटरमध्ये पुस्तकालय भवनले सात सय १३ दशमलव ९६ वर्गमिटर क्षेत्रफल ओगटेको छ ।
प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले भवन अवलोकन गरेपछि निर्माणाधीन पुस्तकालयको भित्री संरचना साँघुरो भएकाले परिमार्जन गर्न सहरी विकास मन्त्रालयलाई निर्देशन दिएको थियो ।
समितिको निर्देशनअनुरुप मन्त्रालयले भवनको भित्री संरचनामा परिमार्जन गर्ने प्रयास गरिरहेको सहसचिव पदमकुमार मैनालीले बताउनुभयो । उहाँले भन्नुभयो, “समयसापेक्ष अनुसार नै पुस्ताकालय निर्माण भइरहेको छ । समितिले दिएको निर्देशनपश्चात् भवनको भित्री संरचनामा मिल्नेसम्म हेरफेर गरेका छाँै । निर्माण सम्पन्न हुँदासम्म पुस्तकालय योग्य नै हुन्छ ।” समितिका सदस्य तुलसाकुमारी दाहालले पुस्ताकालयको भित्री संरचना परिमार्जन गर्न मन्त्रालयलाई समितिले निर्देशन दिएको बताउनुभयो।
उहाँले भन्नुभयो, “पुस्तकालयको भित्री संरचना साँघुरो र अँध्यारो रहेकाले परिमार्जन गर्न आवश्यक छ । मन्त्रालयले केही भित्री संरचना परिमार्जन गराएको छ । निर्माण सम्पन्न हुदाँसम्म पुस्ताकालय समयसापेक्ष हुनुपर्छ ।”
भूकम्परहित निर्माणाधीन पुस्तकालयको पहिलो तलामा पत्रपत्रिका अध्ययन कक्ष, दोस्रोमा अभिलेखालय तथा सङ्ग्रहालय र तेस्रोमा महत्वपूर्ण कागतजात राख्ने मन्त्रालयको योजना रहेको सदस्य दाहालले जानकारी दिनुभयो । सिहंदरबारस्थित पुरानो प्रतिनिधिसभा भवन सार्क सम्मेलनका बेला मर्मत गरिए पनि भूकम्पपछि जीर्ण अवस्थामा छ ।
निर्माण भइरहेको भवनमा प्रतिनिधिसभा भवन, राष्ट्रियसभा भवन, कमन लबि, अति विशिष्ट व्यक्तिको कार्यकक्ष रहेको छ । त्यस्तै भवनसँगै पुस्तकालय, संसदीय दलको कार्यालय, संसदीय समिति, संसदीय सचिवालय, चमेना गृह, सञ्चार कक्ष, सवारीसाधन पार्किङ र सुरक्षाकर्मी लागि भवन निर्माण भइरहेको छ ।




प्रतिक्रिया