काठमाडौं – राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितको ८ सदस्यीय प्रतिनिधिमण्डल रुस प्रस्थान गरेका छन्।
बुधवार बिहान अध्यक्ष तिमिल्सिनासहित राष्ट्रिय सभा सदस्य वामदेव गौतम, रमेशजंग रायमाझी, दिलकुमारी थापा रावल पार्वती लगायतको ८ सदस्यीय टिम रुस प्रस्थान गरेको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष तिमिल्सिनाले भ्रमणमा उच्चस्तरीय भेटघाट र दुई देशका संसदबीच सम्झौता हुने बताउनु भयो । उहाँले दुई देशको संसदीय गतिविधिबारेमा जानकारी गराउने, भ्रमणको आदानप्रदान गर्ने, संसदलाई प्रभावकारी बनाउन एकअर्काबीच सिक्ने कुरा उल्लेख हुने बताउनु भयो ।
भ्रमण टोलीमा रहेका राष्ट्रियसभा सदस्य वामदेव गौतमले दुई देशका संसदबीचको सम्बन्ध सुदृढ गर्ने सन्दर्भमा भ्रमण हुन लागेको बताउनु भयो । उहाँले रुसले राष्ट्रियसभाको प्रतिनिधित्व हुनेगरी उच्चस्तरको भ्रमण पहिलोपटक बोलाएको बताउनु भयो। भ्रमण पूर्ण रूपमा सफल हुने उहाँको विश्वास छ।
राष्ट्रियसभा अध्यक्षको नेतृत्वमा रुस प्रस्थान गरेको ८ सदस्यीय प्रतिनिधिमण्डल वैशाख १२ गते दिउँसो स्वदेश फर्किने कार्यक्रम छ।




प्रतिक्रिया