काठमाडौं – नेकपा एमालेकी सचिव पद्मा अर्यालले गल्ती भएको छ भने माफ माग्ने ठाउँ कहाँ छ भन्दै हिँड्नु भएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले माफ माग्नु पर्ने धेरै ठाउँ भएको बताउनु भएको छ।
वैशाख १० गते चितवन क्षेत्र २ मा हुने उपनिर्वाचनको सन्दर्भमा नेकपा एमालेले आयोजना गरेको घरदैलो कार्यक्रमको कोण सभामा बोल्दै सचिव अर्यालले सो कुरा बताउनु भएको हो।
सचिव अर्याल भन्नुहुन्छ, ‘सभापति लामिछानेले पहिला माफ कहाँ माग्नु पर्छ भने, जहाँ अमेरिकामा उहाँको श्रीमती रोइरहनु भएको छ। छोराछोरीले बाबु खोजिरहेका छन् । त्यसैले उहाँले माफ माग्नु पर्दछ। दोस्रो माफ कहाँ माग्नु पर्छ भने, उहाँले देशको कानून मिच्नु भएको छ, देशको कानून च्यात्नु भएको छ, त्यसैले देशको कानून च्याते बापतको माफ मुलुकमा माग्नु पर्दछ।’
सचिव अर्यालले एमाले पहिलो पटक चुनाव लड्न आएको पार्टी नभएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘एमाले पटक-पटक चुनाव लडेको र जनताले माया गरेको पार्टी हो । हामी धेरै पटक चुनाव लडको छौँ, पहिलो पटक यो चुनावमा सहयोग गर्नुस् भनेर आएका छैनौँ, तपाईँहरूले हामीलाई धेरै पटक सहयोग गर्नुभएको छ ।’
नेपालमा लोकतान्त्रिक आन्दोलनमा र महिला अधिकार स्थापित गर्ने आन्दोलनमा उनीहरू कहाँ थिए ? भन्दै अर्यालले प्रश्न गर्नुभयो । अधिकार स्थापनाको आन्दोलनमा कुनामा बस्नेहरू अहिले आन्दोलनका नायक हामी हौँ भन्दै आएका अर्यालले बताउनुभयो ।
भुक्ने कुरले नटोक्ने बताउँदै अर्यालले त्यसले हल्ला मात्रै गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अमेरिकाको मिष्टान्न खाने, नेपालमा समाजमा भएका असन्तुष्टिलाई उचाल्ने, फेरी पनि नेता भइहालिन्छ कि भनेर धमिलो पानीमा ढुङ्गा हानेर नेता बन्ने कोसिस गर्ने, यस्ता चिजहरू धेरै दिन टिक्दैनन् ।’




प्रतिक्रिया