अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गणेश पाण्डेको ‘को-हजबेण्ड’ डकुमेन्ट्रीले जापानमा र क्यानडामा पायो एक करोड ३० लाख

गणेश पाण्डेको ‘को-हजबेण्ड’ डकुमेन्ट्रीले जापानमा र क्यानडामा पायो एक करोड ३० लाख


काठमाडौं – बहुपति प्रथामा आधारित डकुमेन्ट्री ‘सहायक श्रीमान’ (को-हजबेन्ड)ले जापान र क्यानडामा एकसाथ उत्कृष्ट उपाधि जितेको छ।

नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र फिल्म ‘सहायक श्रीमान’ (को-हजबेन्ड)ले जापानमा एक करोड ३० लाख रुपैयाँको सहयोग प्राप्त गरेको हो । साथै उक्त वृत्तचित्रले क्यानडामा पनि उत्कृष्ट वृत्तचित्र अवार्ड पाएको छ। 

गणेश पाण्डे निर्देशित को-हजबेन्डले जापानको क्युशु शहरमा सम्पन्न पाँचौं मेहोदो अन्तर्राष्ट्रिय युथ भिजुअल मिडिया फेस्टिबलमा एक लाख अमेरिकी डलर (एक करोड तीस लाख नेपाली रुपैयाँ बराबर)को फिल्म फन्डिङ जितेको हो। 

को-हजबेन्डले एक हजार डलर नगदसहित ब्रोन्ज अवार्ड पनि जितेको छ। मेहोदो महोत्सवमा १२२ देशका तीन हजार ५३३ वटा फिल्महरू प्रतिस्पर्धामा थिए। अन्तिम प्रतिस्पर्धामा को-हजबेन्डले यो पुरस्कार जितेको हो। 

गत अप्रिल १९ तारिखबाट सुरू भएको १० दिने महोत्सवको अन्तिम दिन भएको अवार्ड समारोहलाई को-हजबेन्डका निर्देशक पाण्डेले भर्चुअल माध्यमबाट सम्बोधन गरेका थिए। 

निर्देशक पाण्डेलाई आगामी डकुमेन्ट्री परियोजनाका लागि यो अवार्ड दिइएको हो।

यसैगरी, को-हजबेन्डले आजै क्यानडामा पनि उत्कृष्ट डकुमेन्ट्री फिल्म अवार्ड जितेको छ। क्यानडाको नर्थबे अन्टारियोमा भएको गेटवे अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा को-हजबेन्डले उत्कृष्ट पुरस्कार पाएको हो। 

काठमाडौं अन्तर्राष्ट्रिय पर्वतारोहण महोत्सव (किम्फ) मा रिलिज गरिएको ‘को-हजबेन्ड’ले यसअघि नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा पनि उत्कृष्ट अवार्डसहित एक हजार अमेरिकी डलरबाट सम्मानित भएको थियो। 

बहुपति प्रथामा आधारित ३५ मिनेटको यो डकुमेन्ट्री फिल्म कर्णाली प्रदेशको हुम्लामा छायाँकन गरिएको हो।

घरमा जति दाजुभाइ छन्, एउटै श्रीमती विवाह गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हिमाली जिल्लामा विद्यमान छ। सोही विषयलाई निर्देशक पाण्डेले पहिलोपटक पर्दामा उतारेका हुन्। 

साइन मिडिया प्रालिले निर्माण गरेको यो वृत्तचित्रको लेखन पनि निर्देशक पाण्डेले नै गरेका हुन्। जसको निर्मात्री शारदा गैरे, प्रमुख सहायक निर्देशक एवं दृश्य सम्पादक ईश्वर कोइराला र सहायक निर्देशक नृपराज हमाल हुन्। 

यसैगरी ईश्वर कोइराला, चन्द्रमान डंगोल, अविनाश लामा र पुकार तिमिल्सिनाले यो डकुमेन्ट्रीलाई क्यामरामा कैद गरेका हुन्। यसमा रहेको संगीत संयोजन संगीतकार जुगल डंगोलले गरेका छन्।

यसअघि पनि निर्देशक पाण्डेको बहुचर्चित डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरू’ (नेपाल अर्थक्वेकः हिरोज, सर्भाइभर्स एण्ड मिराकल्स)ले पनि डेढ दर्जन अन्तर्राष्ट्रिय अवार्ड जितेको छ।

Skip This