काठमाडौं-नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले मुलुकमा लोकतन्त्र र संविधानप्रति खतरा देखिएको भन्दै त्यसको रक्षा गर्ने जिम्मेवारी राजनीतिक दलहरूको भएको बताएकी छन्। करिब १२ वर्षपछि पार्टी राजनीतिमा सक्रिय भएकी भण्डारीले लोकतन्त्र र गणतन्त्रलाई थप सुदृढ बनाउन आफू पार्टीको राजनीतिमा फर्किएको बताएकी हुन्।
असोज २३ गते ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बसेको स्थायी कमिटीको पहिलो बैठकमा भण्डारीले आफ्नो राजनीतिक सक्रियताबारे धारणा राखेकी थिइन्।
बैठकमा भण्डारीले राखेकी भनाइ उद्धृत गर्दै एमाले सचिव पद्मा अर्यालले भनिन्, ‘११ वर्षपछि पार्टी जीवनमा फर्किएको छु। आज मुलुकमा लोकतन्त्र र संविधानप्रति खतरा देखिइरहेको छ। अब यसको रक्षा गर्ने भनेको राजनीतिक दलले नै हो। जसले लोकतन्त्र स्थापना गरे, तिनै दलहरूले नै यसको रक्षा गर्ने हो।’
भण्डारीले आफू विगतमा पनि लोकतान्त्रिक आन्दोलनमा सहभागी भएको स्मरण गर्दै लोकतन्त्र र गणतन्त्रप्रति आफ्नो अगाध माया र विश्वास रहेको बताएकी थिइन्। पार्टीमा आबद्ध भएर लोकतन्त्र र गणतन्त्रलाई थप सुदृढ बनाउन योगदान पुर्याउन सकिने विश्वासका साथ राजनीतिमा फर्किएको उनको भनाइ थियो।
‘म पनि हिजो आन्दोलनमा सरिक भएँ, त्यसप्रति अगाध माया, विश्वास छ। पार्टीमा आबद्ध भएर लोकतन्त्र, गणतन्त्रलाई अझै सुदृढ बनाउनको निम्ति मद्दत पुर्याउन सक्छु भन्ने मनसायका साथ म पार्टीको जीवनमा फर्किएँ,’ भण्डारीको भनाइ उद्धृत गर्दै अर्यालले बताइन्।
एमाले केन्द्रीय कमिटीले भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी दिएको छ। पार्टी राजनीतिमा उनको पुनः सक्रियतासँगै एमालेको संगठनात्मक संरचनामा उनको भूमिका र जिम्मेवारीसमेत चर्चामा आएको छ।



प्रतिक्रिया