काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न गिरोहका सदस्य तथा बिचौलियाहरूले गृह मन्त्रालयकै गाडी प्रयोग गरी पैसा ओसर्ने गरेको तथ्य उजागर भएको छ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान खोज्ने गिरोहले गृह मन्त्रालयकै गाडीमा पैसा ओसारपसार गरेको तथ्य उजागर भएको हो।
प्रहरीले त्यसरी दुरुपयोग गरिएको गृहको बा.१ झ १५८१ नम्बरको सरकारी गाडी बरामद गरेपछि यो तथ्य उजागर भएको हो। प्रहरी स्रोतका अनुसार उक्त बोरामा राखेको पैसा उक्त गाडीमै ओसार-पसार हुन्थयो । ‘सेतो नम्बर प्लेटको गाडी प्रयोग गर्दा सहज हुने भएकाले बिचौलियाले पटक-पटक गृहको गाडी प्रयोग गरेको देखियो,’ अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीले भन्नुभयो, ‘बोरामा राखेर पैसा ओसार-पसार पनि यसैमा भएको पक्राउ परेका अभियुक्तले बताएका छन् ।’
बरामद गरेको गाडी गृह मन्त्रालयअन्तर्गतको नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँको भएको खुलेको छ । मियाँको समेत गिरोहसँग निकटता देखिएको छ। मियाँ प्रहरीको सम्पर्कमा आएका छैनन् ।
विभिन्न व्यक्तिलाई पैसा बुझाउने वेला सोही गाडी प्रयोग भएको थियो । मोटो रकम निजी गाडीमा ओसारपसार हुँदा जोखिम हुने भएकाले गिरोहले गृहको गाडी प्रयोग गरेको थियो । पीडितहरूसँग उठाएर करोडौँ रकम उनीहरूले उच्चपदस्थलाई बुझाएका थिए ।
त्यही गाडीमा राखेर पैसा ओसारपसार गरेको अभियुक्तहरूले बयानमै बताएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले अनुसन्धानका लागि गृहको गाडी बरामद गरिएको पुष्टि गर्नुभएको छ।
बिचौलियाहरूले पीडितहरूलाई विश्वासमा पार्न पनि सो गाडी प्रयोग गरेको पाइएको छ । चितवन, विराटनगरलगायत ठाउँमा सोही गाडी लिएर गई पीडितहरूलाई फाराम भराउनेदेखि फोटो खिच्नेसम्म काम भएको थियो । सो गाडीमा गृहको परिचयपत्र भिरेका केही कर्मचारी पनि संलग्न रहेको पीडितले उजुरीमा दिएका छन् ।






प्रतिक्रिया