अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संविधान नै मिच्ने काम नगरौं ! : विष्णु रिमाल

संविधान नै मिच्ने काम नगरौं ! : विष्णु रिमाल


काठमाडौँ-नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले अस्वस्थताका कारण राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम वाचन गर्न नसके उपराष्ट्रपतिले गर्नुपर्ने बताउनु भएको छ।

उपमहासचिव रिमालले संविधान मिच्ने काम नगरौँ भन्दै सामाजिक सञ्जालमा सरकारको नीति तथा कार्यक्रमको वाचन राष्ट्रपतिले गर्ने संवैधानिक/कानूनी व्यवस्था भएको उल्लेख गर्नुभएको छ।

उहाँ लेख्नुहुन्छ, ‘तर सम्माननीय राष्ट्रपतिज्यूको स्वास्थ्यमा सुधार नभएको समाचार आयो, नमज्जा लाग्यो। उहाँको शीघ्र स्वास्थ्य लाभको कामना। अझ नमज्जा त अर्को समाचारले गरायो, राष्ट्रपति अस्वस्थ हुनुभएकोले प्रधानमन्त्रीले नै नीति कार्यक्रम वाचन गर्ने रे !’

उहाँले यदि समाचारमा सत्यता छ भने त्यसो नगर्न सुझाव दिनुभएको छ। उहाँ भन्नुहुन्छ, ‘उपराष्ट्रपति स्वस्थ नै हुनुहुन्छ, उहाँलाई त्यस कार्य सम्पादन गर्ने गरी कार्यवाहक तोकौँ । यदि उपराष्ट्रपति पनि उपलब्ध नहुने हो भने त्यस्तो अवस्थामा राष्ट्रपतिले गर्ने काम तत्कालका लागि सभामुखले गर्ने भनिएको छ। त्यसै गरौँ ।’ 

उपमहासचिव रिमालले संविधानको रक्षकले गर्ने कामको विकल्पमा संविधान नै मिच्ने काम गर्न नहुने समेत बताउनु भयो । गत शुक्रवार भएको तीन दलका शीर्ष नेताबीच राष्ट्रपतिको अस्वस्थताका कारण सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले सुरुवात गरेर प्रधानमन्त्रीले वाचन गर्नेबारे छलफल भएको थियो।