काठमाडौं- प्रतिनिधि सभामा नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङले शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउँदा पीडितको भावना सम्मान गर्नुपर्ने बताउनु भएको छ।
टीआरसी बनाउँदा पीडितको भावनालाई समेटेर कानुन बनाउनु पर्ने नेम्बाङ सुझाव दिनुभएको छ। अदालतको विगतको नजिर हेरेर पीडितको भावना सम्बोधन गर्ने गरी सबै दल एक ठाउँमा आएर कानून बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो।
आज कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै नेम्बाङले छलफल र सहकार्यका माध्यबाट कानून छिटो बनाएर सङ्क्रमणकालीन न्यायको काम टुङ्ग्याउनु पर्ने बताउनुभयो । कानून बनाउँदा पीडित केन्द्रित भएर बनाउनु पर्नेमा उहाँले जोड दिनुभयो ।
नेम्बाङले नेपालको अन्तर्राष्ट्रिय प्रतिबद्धता र प्राकृतिक न्यायको सिद्धान्तलाई हेरेर विधेयकलाई टुङ्गोमा पुर्याउनु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अन्तर्राष्ट्रिय हाम्रा प्रतिबद्धताहरू छन्, सर्वोच्च अदालतका फैसलाहरू छन् र कमसेकम पनि पीडितहरूको धेरै पीडितहरूका आफ्ना कुराहरू छन्, ती सबै कुराहरूलाई समेटेर हामीले छलफल गर्दै संशोधन प्रक्रियामा भाग लिएर संशोधन गरेर यहाँसम्म आइपुगेका छौँ।’
सबै प्रक्रिया पुरा गरेर शान्ति प्रक्रियालाई पुरा गर्न सबै राजनीतिक दल एक ठाउँमा उभिनु राम्रो कुरा भएको उहाँले टिप्पणी गर्नुभयो।




प्रतिक्रिया