काठमाडौं – नेपाल सरकारले लामो समयदेखि छापा र विद्युतीय सञ्चार माध्यमलाई उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापनको रकम कटौती गरेको प्रति प्रेस चाैतारी नेपालले आपत्ति जनाएको छ।
सरकारले चालु आर्थिक वर्षको जेठ १५ गतेदेखि असार मसान्तसम्मको लोककल्याणकारी विज्ञापनको रकम निकासा नदिएर नेपाली प्रेसलाई कमजोर पार्ने गठबन्धन सरकारको पहिलो कदम भएको चौतारीले जनाएको छ।
प्रेस चौतारी नेपालका महासचिव हिरामान लामाले विज्ञप्ति जारी गरी आर्थिक संकटको घडीमा विविध समस्यासँग जुधेर पनि आम जनतालाई सुसूचित गर्न अहोरात्र खटिरहेका सञ्चार माध्यम र तिनमा आबद्ध सञ्चारकर्मीको रोजीरोटी खोसिने गरी वर्तमान सत्ता गठबन्धन सरकारले विज्ञापनको रकम कटौती गर्नु नेपाली सञ्चार क्षेत्रलाई ठूलो उपेक्षा भएको प्रेस चौतारी नेपालको ठहर छ।
विगतमा केपी शर्मा ओली प्रधानमन्त्री भएका बखत विद्युतीय सञ्चार माध्यमले पाउने लोककल्याणकारी विज्ञापनको रकममा २५ प्रतिशत वृद्धि गरिएको प्रेस चौतारी नेपालले सरकारलाई स्मरण गराएको छ। तर वर्तमान गठबन्धन सरकारले रकम बढाउनुको सट्टा कटौती गरेको भन्दै चौतारीले आपत्ति जनाएको छ।
‘नेपालको लोकतान्त्रिक आन्दोलनमा सदैव राजनीतिक दलका एजेण्डालाई साथ दिएको नेपाली सञ्चार क्षेत्रलाई सत्तामा पुगेपछि संकटमा पार्ने वर्तमान गठबन्धन सरकारको यो कदमको प्रेस चौतारी नेपाल घोर भर्त्सना गर्दछ’, विज्ञप्तिमा लेखिएको छ।







प्रतिक्रिया