विराटनगर-संघीयता कार्यान्वयनमा देखिएका संवैधानिक तथा प्रशासनिक जटिलता समाधान गर्दै प्रदेशको अधिकार सुनिश्चित गर्ने उद्देश्यले कोशी प्रदेशको राजधानी विराटनगरमा आजदेखि मुख्यमन्त्री सम्मेलन सुरु हुँदैछ।
कोशी प्रदेश सरकारको आयोजनामा हुन लागेको सम्मेलनमा सहभागी हुन ६ प्रदेशका मुख्यमन्त्री विराटनगर आइपुगेका छन्।
सम्मेलनमा सहभागी हुन मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव, बागमतीका मुख्यमन्त्री किरण थापामगर, गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य र कर्णालीका मुख्यमन्त्री मङ्गलबहादुर शाही सोमबार नै विराटनगर पुगेका हुन्।
सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्ट भने हालसम्म विराटनगर आइपुगेका छैनन्। उनी मंगलबार बेलुकासम्म विराटनगर आइपुग्ने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सचिवालयले जनाएको छ। सुदूरपश्चिम प्रदेशबाट भने प्रमुख सचिव सम्मेलनमा सहभागी हुन विराटनगर आएका छन् ।
सम्मेलनमा संघीयता कार्यान्वयनका क्रममा देखिएका संवैधानिक र प्रशासनिक समस्या, प्रदेश सरकारका अधिकार तथा ती अधिकारको प्रभावकारी कार्यान्वयनका विषयमा छलफल हुने अपेक्षा गरिएको छ । प्रदेशहरूबीच साझा धारणा निर्माण गरी संघीय शासन प्रणालीलाई थप प्रभावकारी बनाउने सम्मेलनको मुख्य उद्देश्य रहेको छ ।



प्रतिक्रिया