अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाढीपहिरोले देशका विभिन्न राजमार्ग प्रभावित

बाढीपहिरोले देशका विभिन्न राजमार्ग प्रभावित


काठमाडौँ-बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडक खण्डमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीका अनुसार बागमती र गण्डकी प्रदेशका विभिन्न स्थानमा सडक अवरुद्ध हुँदा कतिपय खण्डमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ भने केही स्थानमा यातायात पूर्ण रूपमा ठप्प भएको छ।

बागमती प्रदेशको धादिङस्थित त्रिभुवन राजपथअन्तर्गत धुनिवेशी नगरपालिका–९, खत्रीपौवामा गत असोज २१ गते पहिरो खसेपछि सडक एकतर्फी रूपमा सञ्चालन भइरहेको छ।

त्यस्तै, गण्डकी प्रदेशको म्याग्दीस्थित बेनी–जोमसोम सडक खण्डअन्तर्गत रघुगंगा गाउँपालिका–२, बैसरीमा पहिरो खसेपछि यातायात एकतर्फी रूपमा सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।

नवलपरासीको कालीगण्डकी करिडोरअन्तर्गत बौदीकाली गाउँपालिका–३, जन्ती पहिरो क्षेत्रमा पनि पहिरोका कारण सडक प्रभावित भएको छ। उक्त सडक खण्डमा साना सवारीसाधन मात्र सञ्चालन हुन सक्ने अवस्था छ भने ठूला सवारीसाधन आवागमन गर्न सकेका छैनन्।

यसैगरी, मनाङमा गत असोज १८ गते आएको बाढीका कारण बेंसीसहर हुँदै खाङसारसम्म जाने सडकमा यातायात एकतर्फी रूपमा सञ्चालन भइरहेको छ।

उता, गोरखाको आरुघाट गाउँपालिका–२ र ३ तथा वडा नं. ९ को नयाँपुल क्षेत्रमा आइतबार आएको बाढीले थप क्षति पुर्‍याएको छ। बाढीका कारण सोतीमा रहेको फलामे पुलमा क्षति पुग्नुका साथै गोरखाको आरुघाटबाट धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

विभिन्न सडक खण्डमा यातायात प्रभावित भइरहेकाले यात्रुलाई यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न र जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन आग्रह गरिएको छ।