अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ताप्लेजुङको आठराई त्रिवेणीले सार्वजनिक गर्‍यो एक वर्षका ३०  उपलब्धि 

ताप्लेजुङको आठराई त्रिवेणीले सार्वजनिक गर्‍यो एक वर्षका ३०  उपलब्धि 


ताप्लेजुङ-ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले ३० बुँदे प्रगति विवरण प्रस्तुत गर्दै त्यसलाई वर्षदिन भित्रको मुख्य उपलब्धिको रूपमा उल्लेख गरेको छ । पालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)ले मुख्य उपलब्धि सार्वजनिक गर्दै उत्कृष्ट र नमुना गाउँपालिका बनाउने गरी कार्य सम्पादनको प्रक्रियामा रहेको बताउनुभयो ।  

उहाँका अनुसार निर्वाचित पदाधिकारीको एकवर्षे कार्यकालमा गाउँपालिकाभरिका घरधुरीमा घरायसी प्रयोजनका लागि विद्युत निःशुल्क गरिएको छ । पालिका भित्रका सबै स्वास्थ्य संस्थाहरू निर्माण कार्य पूरा हुने चरणमा रहेको र निघुरादिन तथा फूलबारीका स्वास्थ्य संस्था निर्माण सम्पन्न भई नयाँ भवनबाटै सेवा आरम्भ भएको,वडापालिकाका प्रशासकीय भवन मध्ये वडा नं ३ हाङ्पाङको भवन निर्माण पूरा भई नयाँ भवनबाट प्रशासकीय सेवा सुरु भएको र बाँकी ४ वटा वडाको प्रशासकीय भवनको निर्माण सम्पन्न भई नयाँ भवनबाटै सेवा आरम्भ गर्ने प्रक्रियामा रहेको पालिकाले जनाएको छ । 

आधुनिक र एकीकृत सेवा दिने गरी गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि जग्गा व्यवस्थापन सहित निर्माणको चरण प्रारम्भ भएको,पालिकाका कर्मचारीका लागि आवास भवन निर्माणको कार्य अन्तिम चरणमा पुगेको,पालिका स्तरीय १० शैयाको अस्पताल निर्माण कार्य तीव्र रूपमा अघि बढेको,पालिका भित्रका सामुदायिक विद्यालयमा कक्षा १२ सम्मको अध्ययन पूर्ण रूपमा निःशुल्क गरिएको,लामो समयदेखि मानसिक समस्या भोगिरहेका पालिकाका २ जनाको उद्धारगरी उपचारको व्यवस्था गरिएको,क्यान्सर पीडित,मेरुदण्ड पक्षाघात तथा मिर्गौला प्रत्यारोपण गरी डाईलासिस गराइरहेका १५ बिरामीलाई मासिक ५ हजार रुपैयाँका दरले करिब ४ लाख रुपैयाँ बढी रकम प्रदान गरिएको,विपन्न नागरिक सहयाता कोषमार्फत पालिकाका १० जना अति विपन्नलाई १५ हजार रुपैयाँका दरले रकम उपलब्ध गराएको गाउँपालिकाले जनाएको छ । 

यस्तै सुशासन प्रवर्द्धनका लागि ई–हाजिरी र डिजिटल नागरिक वडापत्र सहितका व्यवस्था गरिएको,शान्ति सुव्यवस्था तथा आपराधिक गतिविधि निगरानीका लागि कार्यालय परिसर र पालिकाका मुख्य नाकाहरूमा बुलेट सिसी क्यामेरा जडान गरिएको, सबै वडाहरूमा बर्थिङ सेन्टर स्थापना गर्ने नीति अनुरुप आवश्यक कर्मचारी र भौतिक उपकरण व्यवस्थापन गरिएको, प्रधानाध्यापकको जिम्मेवारीलाई थप प्रभावकारी बनाउन मासिक १ हजार ५ सय रुपैयाँका दरले थप प्रोत्साहन रकम उपलब्ध गराउन थालिएको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाले ‘एक वडा, एक सामुदायिक भवन’ बनाउने नीति अनुरुप वडा नं ४ र ५ मा भवन निर्माण कार्य भइरहेको र वडा नं १ र २ मा बजेटको व्यवस्था गरी प्रक्रिया आरम्भ गरिएको, प्रत्येक वडामा खेल मैदान निर्माण गर्नेगरी पहिलो चरणमा वडा नं २ को महभीर खेल मैदान निर्माण सम्पन्न गरी चालू वर्षको राष्ट्रपति रनिङ शिल्डको पालिका स्तरीय प्रतियोगिता त्यहीँ सम्पन्न गरिएको,अवैध निकासीमा रहेका गोलिया तथा अवैधानिक ढंगबाट सञ्चालनमा रहेका क्रसर उद्योगलाई नियमन गरिएको,पालिका भित्रका ७ जनालाई प्राविधिक विषय निःशुल्क पढ्न पाउने व्यवस्था सहित जनही १ लाख रुपैयाँको छात्रवृत्ति प्रदान गरिएको,गाउँपालिका क्षेत्र भित्रका विभिन्न सडकलाई स्तरोन्नति र सडक क्षेत्रमा अनिवार्य ढल तथा निकासको प्रबन्ध गरिएको समेत जनाएको छ । 

यस्तै गाउँपालिकाको स्रोत साधन र सोको उपयोगिता वृद्धिका लागि खर्च मापदण्ड तयार गरिएको,प्रशासनिक सुधार एवम् मितव्ययितालाई ध्यान दिइएको,सडक बत्तीलाई प्राथमिकता दिई पालिका केन्द्र,वडा कार्यालय र स्वास्थ्य चौकी जानेबाटोहरुमा सडकबत्ति जडान गरिएको,पालिकाका सेवालाई प्रभावकारी र आम नागरिकमा सेवा पहुँच स्थापित गर्न सहायता कक्ष बनाइएको,स्थानीय भाषा जर्गेनाका लागि पालिकाका सबै वडाहरूमा स्थानीय भाषा शिक्षा लागु गरिएको,महिला स्वास्थ्य स्वयंसेविकालाई मासिक जनही ५ सय रुपैयाँका दरले प्रोत्साहन रकम उपलब्ध गराउन थालिएको समेत गाउँपालिकाले जनाएको छ । 

यस्तै पालिकाका सबै वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएको, पालिका क्षेत्रका सबै विद्यालयहरु बन्दमुक्त घोषणा गरी बन्दको समयमा विद्यालय सञ्चालन गर्न थालिएको,गाउँ शिक्षा समितिको अगुवाइमा पालिका भित्रका माध्यमिक विद्यालयमा मासिक रूपमा स्वास्थ्य परीक्षण गर्न थालिएको,प्रत्येक वडाका गाउँघर क्लिनिकबाट मासिक रूपमा एकपटक गर्भवती महिला र ज्येष्ठ नागरिकको स्वास्थ्य  परिक्षण गर्न थालिएको,ज्येष्ठ नागरिक दन्त उपहार,निःशुल्क आँखा शिविर र चस्मा वितरण कार्यक्रम गरिएको,पालिकाको केन्द्र रहेको स्थान हाङ्पाङस्थित सरस्वती नमुना माध्यमिक विद्यालयमा कक्षा ९ देखि कक्षा १२ सम्म कृषि प्राविधिक विषयको अनुमति लिई कक्षा सञ्चालन सुरु गरिएको तथा वडा नं १ निघुरादिनस्थित परमसिंह माविमा ११ र १२ कक्षा सञ्चालनको अनुमति प्रदान गरी कक्षा सुरु गरिएको जस्ता विवरणलाई गाउँपालिकाले वर्ष दिनको उपलब्धिको रूपमा लिएको छ ।