बझाङ-बझाङमा अटो रिक्सा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन्।
सोमबार बुङ्गल नगरपालिका-१० टुमेडा गाउँबाट वडा नम्बर ११ को हिड्नेगडा बजारतर्फ जाँदै गरेको सु.प.प्र. ०१००१ ह ७९९८ नम्बरको अटो दुर्घटनामा परेको हो। ब्रेक फेल भएर अटो सडकबाट करिब ९०० मिटर तल भीरमा खसेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक उपेन्द्र तिमिल्सैनाका अनुसार दुर्घटनामा बुङ्गल नगरपालिका–१० की ४० वर्षीया राजमती महरा, १६ वर्षीया तारा महरा र ६ वर्षीया डल्ली महराको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा अन्य दुई जना यात्रु बेपत्ता भएका छन् । उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
अटोमा चालकसहित छ जना सवार रहेको बताइएको छ। दुर्घटनापछि अटो चालक बुङ्गल नगरपालिका–१० का २५ वर्षीय टेकबहादुर पातलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बेपत्ता यात्रुको खोजी तथा उद्धारका लागि प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।



प्रतिक्रिया