अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय कार्यकर्ता भेला तयारीबारे एमालेको पत्रकार सम्मेलन जारी

राष्ट्रिय कार्यकर्ता भेला तयारीबारे एमालेको पत्रकार सम्मेलन जारी


काठमाडौं-नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलाको तयारीबारे जानकारी दिन पत्रकार सम्मेलन गरिरहेको छ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी पत्रकार सम्मेलनमार्फत एमालेले राष्ट्रिय कार्यकर्ता भेलाको तयारी, सहभागिता तथा समसामयिक राजनीतिक विषयमा जानकारी गराइरहेको छ।

पत्रकार सम्मेलनमा पार्टी महासचिव शंकर पोखरेल, उपमहासचिव योगेश भट्टराई, सचिव तथा संगठन विभाग प्रमुख एवं राष्ट्रिय भेला तयारी समितिका संयोजक भानुभक्त ढकाललगायत नेताहरू सहभागी छन्।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार काठमाडौंको कार्की ब्याङ्क्वेटमा हुने भेलामा देशभरबाट ३ हजार १६४ जना नेता, जनप्रतिनिधि तथा विभिन्न तहका संगठनका प्रतिनिधि सहभागी हुनेछन्।

भेलामा ८१ जना केन्द्रीय निकायका प्रतिनिधि, ५५ जना प्रदेश, भारत प्रवास तथा प्रवासी नेपाली मञ्चका प्रतिनिधि, ४४० जना जिल्ला तहका प्रतिनिधि र १ हजार ५०६ जना पालिका कमिटीका प्रतिनिधि सहभागी हुनेछन्।

त्यसैगरी संघीय संसद् तथा राष्ट्रिय सभाका ३५ जना, प्रदेशसभाका १५५ जना, स्थानीय तहका प्रमुख तथा अध्यक्ष १९६ जना, उपप्रमुख तथा उपाध्यक्ष ३४२ जना र जनसंगठनका ९६ जना प्रतिनिधिको सहभागिता रहने आचार्यले जानकारी दिए।

भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

एमालेले पार्टीको आगामी राजनीतिक कार्यदिशा, संगठनात्मक अवस्था र भावी रणनीतिबारे छलफल गर्न राष्ट्रिय भेला आयोजना गर्न लागेको हो। भेलामार्फत पार्टीभित्रको संगठनात्मक एकता सुदृढ गर्ने, नेता तथा कार्यकर्ताबीच साझा धारणा निर्माण गर्ने र आगामी स्थानीय निर्वाचनको तयारीलाई प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।

यातायात व्यवस्थापनलाई सहज र व्यवस्थित बनाउन एमालेले भेलामा सहभागी हुने नेता तथा कार्यकर्तालाई सम्भव भएसम्म निजी सवारीसाधनको सट्टा सार्वजनिक यातायात प्रयोग गर्न आग्रह गरेको छ।

राष्ट्रिय कार्यकर्ता भेला सम्पन्न भएलगत्तै एमालेले थप दुईवटा केन्द्रीय कार्यक्रम आयोजना गर्ने कार्यतालिका बनाएको छ। जसअनुसार मंसिर ४ गते बिहान ११ बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय भेला हुनेछ भने मंसिर ५ गते पार्टी केन्द्रीय कमिटीको चौथो बैठक बस्ने तय भएको छ।