काठमाडौं-नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले बिचौलिया भनिएका इनम सापकोटामाथि भइरहेको अनुसन्धान पारदर्शी नभएको टिप्पणी गरेका छन्।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले सापकोटाको भूमिका र प्रधानमन्त्री बालेन्द्र शाहसँगको सम्बन्धबारे विभिन्न विषय सार्वजनिक भइरहे पनि अनुसन्धान प्रक्रिया स्पष्ट हुन नसकेको बताएका हुन्।
महासचिव पोखरेलले प्रधानमन्त्रीलाई झापाबाट उम्मेदवार बनाउने विषयमा गरिएको भनिएको सर्वेक्षणदेखि चुनावी अभियान र सरकार गठनपछिको टिमसम्म सापकोटाको संलग्नताबारे चर्चा भइरहेको उल्लेख गरे।
‘धेरैले गरेको विश्लेषणअनुसार प्रधानमन्त्रीलाई झापामा उम्मेदवार बनाउन उपयुक्त हुन्छ कि हुँदैन भन्ने सर्वेक्षण पनि उनकै नेतृत्वमा भएको थियो भन्ने छ। चुनावको क्याम्पेनमा पनि उनै सामेल भए। प्रधानमन्त्री भइसकेपछि कसरी सरकारलाई सफल बनाउने भन्ने कोर टिमभित्र पनि उनी रहे भन्नेसम्मका कुराहरू आइसकेका छन्,’ महासचिव पोखरेलले भने।
पोखरेलले प्रधानमन्त्रीका सल्लाहकारले प्रहरी नियन्त्रणमा लिएको मोबाइल दुई–तीन दिनसम्म आफूसँग राखेको विषय पनि सार्वजनिक भएको बताए। यी घटनाक्रमबारे अनुसन्धानबाट तथ्य स्पष्ट हुनुपर्ने उनको भनाइ थियो।
सरकारले सापकोटालाई नियन्त्रणमा लिए पनि अनुसन्धानको प्रक्रिया भने रहस्यमयी देखिएको पोखरेलले टिप्पणी गरे। ‘अहिले यही सरकारले इनम सापकोटालाई नियन्त्रणमा ल्याएको छ। तर पनि अनुसन्धानको प्रक्रिया रहस्यपूर्ण देखिँदै छ, पारदर्शी छैन,’ उनले भने।
पत्रकार सम्मेलनमा पोखरेलले प्रधानमन्त्री शाहको कार्यशैलीप्रति पनि आलोचना गरेका थिए। उनले सरकारका गतिविधि र कार्यशैलीबारे प्रश्न उठाउँदै सार्वजनिक भएका विषयमा निष्पक्ष तथा पारदर्शी ढंगले अनुसन्धान हुनुपर्नेमा जोड दिएका थिए।



प्रतिक्रिया