काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वास्थ्यलाभ गरिरहेका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीसँग भेट गर्नुभएको छ।
बुधबार सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी भएर सभामुखको कार्यकक्षमा रहेका भण्डारीलाई भेट्न अध्यक्ष ओली पुग्नुभएको थियो ।
सांसद भण्डारीले आफ्नो स्वास्थ्य लाभको कामना गरेकोमा अध्यक्ष ओलीलाई धन्यवाद दिनुभयो । उहाँले भन्नुभयो, ‘मेरो बारेमा तपाईंले भन्नुभएको सुनेँ, गुल्मीमा पनि बोल्नुभएको सुनेँ । गुल्मीबाट पनि स्वास्थ्य लाभको कामना गर्नुभयो । थ्याङ्क यू सो मच ।’
सांसद भण्डारीले आमा बितेको दुई महिनापछि मात्रै थाहा पाएको पनि ओलीसँग बताउनु भयो।
त्यसक्रममा अध्यक्ष ओलीले भन्नुभयो, ‘तपाईं फर्केर आउनुहुन्छ भन्ने विश्वास थियो। निको भएर आएपछि भेट भयो। खुसी लागेको छ।’
सांसद भण्डारीले नेपालमा जलन अस्पताल आवश्यक रहेको बताउँदै तत्कालै काम सुरु गर्न पनि ओलीको ध्यानाकर्षण गराउनु भयो।
सभामुख देवराज घिमिरेले एक साताअघि निवासमै गएर भण्डारीसँग भेट गर्नुभएको थियो। सभामुखले पनि माननीय भण्डारको इच्छाअनुसार नीति तथा कार्यक्रममा बोल्न विशेष व्यवस्था मिलाउनुभएको थियो।
भण्डारीले आज सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै जलन भएयता संसदमा पहिलोपटक सम्बोधन गर्नुभएको थियो।







प्रतिक्रिया