काठमाडौं – आगलागीको घटनापछि स्वास्थ्य लाभ गर्दै गरेका नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्नुभएकाे छ।
सांसद भण्डारीकै इच्छाअनुसार विशेष व्यवस्था मिलाएर बैठकमा बोल्ने अवस्था बनाइएको सभामुख देवराज घिमिरेले बताउनुभएकाे छ।
एक साताअघि निवासमै पुगेर जलनबाट घाइते भएका भण्डारीलाई भेटेर स्वास्थ्यलाभको कामना गरेको स्मरण गराएका सभामुख घिमिरेले भण्डारीकै इच्छाअनुसार बुधबार सदनमा बोल्ने व्यवस्था मिलाइएको बताउनुभएकाे हाे।
‘माननीय भण्डारीज्यूले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा हुने इच्छा राख्नुभएको थियो । उहाँको इच्छाअनुसार संसद सचिवालयलाई बोल्न विशेष व्यवस्था मिलाउन निर्देशन दिएको थिएँ,’ आफ्नो कार्यकक्षमा रहेका भण्डारीसँगको भेटमा सभामुख घिमिरेले भन्नुभयाे, ‘आज माननीयज्यूले सदनमै आएर सम्बोधन गर्नुभएको छ। उहाँलाई सम्बोधनपछि कार्यकक्षमा नै स्वागत गर्ने र पुनः स्वास्थ्यलाभको कामना गर्ने अवसर पाइयो । पुनः माननीयज्यूको स्वास्थ्य लाभको कामना गर्दछु ।’




प्रतिक्रिया