काठमाडौं – सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानाले कृत्रिम खुट्टाको सहारामा सगरमाथा आरोहण गरेका हरि बुढा मगरलाई बधाईसहित सम्मान व्यक्त गर्नुभएको छ।
सभामुखको सरकारी निवास बालुवाटारमा बुढामगरलाई सम्मान गरिएको हो।
बुढामगरले नेपाल र नेपालीलाई विश्वभर चिनाएको भन्दै सभामुख घिमिरेले प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, ‘तपाईं प्रेरणादायी व्यक्तिको सूचीमा विश्वमै कहलिनुभएको छ। तपाईंको प्रेरणाको कथा हरेक बालबालिकासम्म पुर्याउनुपर्छ। नेपालीले तपाईंप्रति गौरव गरिरहनेछन् ।’
उपसभामुख रानाले बुढामगरलाई सर्वश्रेष्ठ मानवको संज्ञा दिँदै आगामी दिनमा पनि आफ्नो यात्रालाई निरन्तरता दिन प्रेरणा प्रदान गर्नुभयो ।
सो क्रममा सभामुख घिमिरेले बुढामगरलाई बधाई पत्र हस्तान्तरण गर्नुभएको थियो । बधाई पत्रमा उहाँले युद्ध मैदानमा दुवै खुट्टा गुमाएपछि पनि कृत्रिम खुट्टाको सहायताले सगरमाथा आरोहण गरी राख्नुभएको विश्वकीर्तिमान युगौँयुगसम्म नेपाली र आरोहणका क्षेत्रमा रहेकाका लागि प्रेरणा बन्ने विश्वास व्यक्त गर्नुभएको छ।
रोल्पाको थवाङस्थित मिरुल घर भई बेलायती सेनामा रहँदा सन् २०१० मा अफगानिस्तानको लडाईंमा दुवै खुट्टा गुमाउनुभएका बुढामगरले यही जेठ ५ गते विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नुभएको थियो।










प्रतिक्रिया