अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शरणार्थी प्रकरणमा संलग्न सबैलाई अनुसन्धानको दायरामा ल्याइनेछ: उपप्रधानमन्त्री श्रेष्ठ

शरणार्थी प्रकरणमा संलग्न सबैलाई अनुसन्धानको दायरामा ल्याइनेछ: उपप्रधानमन्त्री श्रेष्ठ


काठमाडौं – उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी बनाइ नेपालीलाई विदेश पठाउने अपराधमा संलग्न जो कोहीलाई पनि अनुसन्धानको दायरामा ल्याउने प्रक्रिया खुल्ला रहेको बताउनुभएको छ।

नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालले बुझाएको ज्ञापनपत्र बुझ्दै उपप्रधानमन्त्री श्रेष्ठले उक्त प्रकरणले नेपालीलाई लज्जित बनाएको बताउनुभयो। उहाँले समृद्धिको पूर्वशर्तका रुपमा रहेको सुशासन कायमका सन्दर्भमा चुनौती खडा गरेकाले राजनीतिक दबाब र अवाञ्छित प्रभावबाट मुक्त भई अनुसन्धान गर्नन नेपाल प्रहरीलाई निर्देशन दिइएको स्पष्ट गर्नुभयो।

नेपाल प्रहरीले सो प्रकरणमा पूर्वगृहमन्त्रीसहित ३० जनालाई बुधबार राज्यविरुद्धको अपराध, ठगी र कीर्ते लगायतका मुद्दा दायर गरिसकेको छ।

“भ्रष्टाचार र कमिसनको जालोलाई नतोड्दासम्म समृद्धिको यात्राले तीव्रता पाउन सक्दैन । यस मामिलामा नेपाल सरकार र प्रहरीको संयन्त्र स्पष्ट छ । यही आधारमा स्वतन्त्र भई अनुसन्धान गरी कुनै पनि दोषी नउम्किउन् र निर्देश नपरुन् भन्ने सिद्धान्तका साथ हामीले काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो।

कुनै पनि पार्टी वा नातागोताका आधारमा अपराधलाई संरक्षण नगरिने भन्दै उहाँले बाहिर चर्चामा आएका व्यक्तिका सम्बन्धमा तथ्य र प्रमाण पुगेका जुनसुकै बेला प्रहरीले अनुसन्धानको दायरामा ल्याउनसक्ने बताउनुभयो।

सङ्घले अनुसन्धानका क्रममा भएका गोप्य बयान र प्रमाणलाई नियतबश बाहिर प्रयास भएकोमा ध्यानाकर्षण  गराएको थियो।

Skip This