अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आर्थिक सङ्कट समाधानमा सहकार्य जरुरी: अध्यक्ष ढकाल

आर्थिक सङ्कट समाधानमा सहकार्य जरुरी: अध्यक्ष ढकाल


काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासङ्घले अहिलेको आर्थिक सङ्कट समाधानका लागि सहकार्यका गर्न विकास साझेदारसमक्ष आग्रह गर्नुभएको छ।

समस्या समाधानका लागि रणनीति तय गर्ने, लगानीको वातावरण बनाउने, दक्ष जनशक्ति उत्पादन तथा  रोजगारी सृजना गर्ने प्रमुख प्राथमिकतामा सहकार्य गर्न उहाँले आग्रह गर्नुभयो।

नेपालका लागि संयुक्त राष्ट्र सङ्घका आवासीय संयोजक हाना सिङ्गरलाई महासङ्घ सचिवालयमा स्वागत गर्दै अध्यक्ष ढकालले निजी क्षेत्र र विकास साझेदारबीच सहकार्य बढाउन आग्रह गर्नुभएको हो।

भेटवार्तामा दिगो विकासका लक्ष्य प्राप्ति र अतिकम विकसित मुलुकबाट स्तरोन्नतिबाट पर्न सक्ने प्रभाव न्यूनीकरणका लागि सहकार्य गर्ने विषयमा छलफल भएको महासङ्घले जनाएको छ।

साना तथा मझौला उद्योग व्यवसायको क्षमता विकास, दक्ष जनशक्ति उत्पादन, निजी क्षेत्र र तीनवटै तहका सरकारसँगको सहकार्यलगायतका विषयमा सहकार्य गर्नेबारे पनि छलफल भएको थियो।

अध्यक्ष ढकालले महासङ्घको मुलुकभर बलियो सञ्जाल हुनुका साथै तल्लो तहसम्म पुग्न सक्ने संरचना भएकाले दिगो विकासका लक्ष्य पूरा गर्न महासङ्घ महत्वपूर्ण साझेदार हुनसक्ने बताउनुभयो।

आवासीय संयोजक हाना सिङ्गरले महासङ्घका अध्यक्षले राख्नुभएका विषयलाई आफूले महत्वका साथ लिएको बताउनुभयो। उहाँले दिगो विकासका लक्ष्य र स्तरोन्नतिका विषयमा विशेष चासोको राख्नुभएको थियो। दिगो विकासका लक्ष्य हासिलमा स्तरोन्नतिबाट पर्ने प्रभाव न्यूनीकरणका लागि महासङ्घको भूमिका प्रभावकारी हुने उहाँको भनाइ छ।

स्तरोन्नतिलाई सहज बनाउन रणनीति तयार पार्ने क्रममा सरकार, निजी क्षेत्र र संयुक्त राष्ट्र सङ्घले सहकार्य गर्न सक्ने उहाँले बताउनुभयो। औपचारिक भेटमा संयुक्त राष्ट्रसङ्घ नेपाल कार्यालय र महासङ्घ सचिवालयका  अधिकारीहरुको उपस्थिति थियो।

Skip This