अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शरणार्थी प्रकरणमा नौ करोड रुपैँया दिएँ भन्ने मान्छे सूचनादाता मात्र ? : अध्यक्ष ओली

शरणार्थी प्रकरणमा नौ करोड रुपैँया दिएँ भन्ने मान्छे सूचनादाता मात्र ? : अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले र आफू नजिकका मानिसलाई जबरजस्ती मुछ्न खोजेको आरोप लगाउनु भएको छ।

शुक्रबाटबाट पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो।

अध्यक्ष ओलीले हरेक कुरमा एमालेलाई मुछ्ने र आरोप लगाउने काम भएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘भुटानी शरणार्थी प्रकरणदेखि अनेक खालका कृत्रिम प्रकरण बनाएर एमालेलाई मुछ्ने प्रयत्न गरिरहेको छ।’

अध्यक्ष ओलीले एमालेले नै यी सबै काम गरेजस्तो गरी आरोप लगाउने काम गरिएको उहाँले बताउनुभयो । ‘सम्पूर्ण रूपमा बाढी एमाले तर्फ खन्याउन खोजियो’, ओलीले भन्नुभयो।

एमालेको सो घटनामा कुनै संलग्नता नभएको अध्यक्ष ओलीले बताउनुभयो । एमाले सधैँ भ्रष्टाचारको विरुद्ध रहेको उहाँले प्रष्ट पार्नुभयो । जिन्दगीभरि भ्रष्टाचार विरुद्ध काम गर्ने आफू माथि समेत भ्रष्टाचारको आरोप लगाउने काम देश विरोधी तत्त्वले गरिरहेका ओलीले बताउनुभयो । 

भुटानी शरणार्थी प्रकरणमा बयान लिनुभन्दा अघि अखबारमा कुरा आउने भन्दै ओलीले ती सबै काम सेटिङमा भएका बताउनुभयो । सो घटनामा को को संलग्न छन् भन्ने कुरा समयले देखाउने उहाँले दाबी गर्नुभयो।

सो प्रकरणमा अनेक खालका मानिसलाई भेला गराएर भेट गराएर बयान लिने र बयान फेर्ने काम गरिएको ओलीले बताउनुभयो। सो घटनालाई गुपचुप गरेर मिलाउने अनेक प्रयास गर्दा पनि थेग्न नसकेपछि घटना सार्वजनिक भएको ओलीले बताउनुभयो । गिरफ्तार गरिएका मानिससँग दलालहरू ल्याएर घण्टौँ भेटघाट गराएर गोप्य योजना बनाएको ओलीले बताउनुभयो । 

मैले ९ करोड बुझाएँ भन्ने मान्छेलाई सरकारले सरकारी गवाह भनेर सूचनादाताको रूपमा मात्र राखेको भन्दै ओलीले आपत्ति जनाउनुभयो। सो घटनामा संलग्नलाई सरकारकै योजना अनुसार संरक्षण गरिएको ओलीले बताउनुभयो ।