अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ममाथि आधारहीन र भ्रामक आरोप लगाइयो: अध्यक्ष ओली

ममाथि आधारहीन र भ्रामक आरोप लगाइयो: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि आधारहीन, असत्य र भ्रामक आरोप लगाएर सरकारले जनतालाई गुमराहमा पार्ने प्रयास गरिरहेको बताउनुभएको छ। पशुपतिनाथ मन्दिरमा लगाइएको सुनको जलहरी पित्तलको भनेर आधारहीन आरोप लगाइएको उहाँको भनाइ छ । 

शुक्रबाटबाट पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो।

जँड्याहाले पनि नबोल्ने खालको अभिव्यक्ति माओवादी सांसदले दिएको उहाँको टिप्पणी छ। आफूमाथि आधारहीन आरोप लागेपछि संसद् अवरुद्ध गरिएको उहाँले प्रष्टिकरण दिनुभयो । उहाँले भन्नुभयो, ‘हामी यतिबेला चौतर्फी घेराबन्दीमा छौँ । सत्तापक्षी दल एमालेलाई फसाउने षडयन्त्रमा लागेका छन्, मिडिया सामाजिक सञ्जालको दुरुपयोग गरिएको छ ।’

एमाले पार्टी सधैँ भ्रष्टाचारको विरुद्धमा उभिएको पार्टी भएको उहाँले बताउनुभयो। अध्यक्ष ओलीले थप्नुभयो, ‘एमालेलाई बदनाम गर्न खोजियो । एकजना माओवादी सांसदले पशुपतिमा सुनको जलहरी चढाउँछु भनेर पित्तलको जलहरी चढाएर भ्रष्टाचार गरेछन् भनेर बकबास कुरा गरेछन् । त्यस्को सरकारले, माओवादी पार्टीले पुष्टि गर्नुपर्छ ।’

अध्यक्ष ओलीले भन्नुभयो, ‘पशुपतिमा सुनको कि पित्तलको मैले ट्वाकट्वाक पार्न गएको थिए र त्यहाँ ? मैले त्यतिबेला प्रधानमन्त्रीको हैसियतमा रकम दिने हो, सुन हाल्न जाने होइन । मैले जिन्दगीभर भ्रष्टाचारविरुद्धको अभियान चलाएर आएको छु। त्यही मान्छेका विरुद्ध यो त इमानका शत्रुहरूले गर्ने काम हो । यो देशद्रोही तत्त्वहरूको काम हो।’