काठमाडौं – प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पशुपतिनाथको जलहरी प्रकरणमा प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीलाई जोडेर संसद्मा अभिव्यक्ति दिनु उचित नभएको बताउनु भएको छ।
प्रतिनिधिसभाको आजको बैठकको सुरुमा समय लिएर बोल्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनु भएको हो।
प्रधानमन्त्री दाहालले सो प्रकरणबारे पार्टीका सांसद दाहालले बोलेको कुरा संसद्का रेकर्डबाट हटाउन सकिने प्रचलन गरेको पनि स्मरण गराउनु भयो ।
प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘श्री पशुपतिनाथ मन्दिरमा रहेको जलहरीबारे सम्मानित सदनमा चर्चा उठेको छ। पशुपतिनाथ मन्दिरको जलहरी लगायतका विषयमा काम गर्ने क्षेत्राधिकार पशुपति विकास कोषको हो। र, सोही संस्थाले काम गरेको विषयमा कुनै विवाद छैन। जलहरीका केही विषयबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निवेदन परी छानबिन, अनुसन्धान भइरहेको छ। यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वतन्त्र एवम् निष्पक्ष छानबिन गर्ने नै छ। यसमा सरकारको सहयोग रहनेछ। पशुपति विकास कोषसँग सम्बन्धित पशुपतिनाथको जलहरी सम्बन्धी विषयमा प्रमुख प्रतिपक्षको नेतालाई जोडेर सम्मानित सदनमा विचार व्यक्त हुनु उचित होइन । यस्ता विषय संसद्को रेकर्डबाट हटाउने प्रचलन पनि रहेकै छ । यति भनिसकेपछि मैले नीति, कार्यक्रम सम्बन्धी उठेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम आज नै रहेको छ। बाँकी विस्तृत रूपमा म त्यति बेला नै कुरा राख्नेछु ।’
जलहरीका केही विषयबारे अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा उजुरी परी छानबिन भइरहेको उहाँले प्रष्ट पार्नुभयो।
‘अख्तियार दूरुपयोग अनुसन्धान आयोगले स्वतन्त्र एवं निष्पक्ष छानबिन गर्ने नै छ,’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘यसमा सरकारको सहयोग रहनेछ। पशुपतिनाथको जलहरी सम्बन्धि विषयमा प्रमुख प्रतिपक्षी दलको नेतालाई जोडेर सम्मानित सदनमा विचार व्यक्त हुनु उचित होइन।’
संसद्को जेठ १० गते बसेको प्रतिनिधिसभाको बैठकमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले केपी शर्मा ओली नेतृत्वको सरकारले पशुपतिनाथ मन्दिरको जलहरी सुनको भनेर पित्तलको लगाई भ्रष्टाचार गरेको आरोप लगाउनु भएको थियो।




प्रतिक्रिया