विदुर-सभामुख देवराज घिमिरेले नुवाकोटलाई राजधानीसँग सहजरूपमा जोड्नका लागि सुरुङमार्गले पूर्णता पाउनुपर्ने बताउनुभएको छ।
आज दुप्चेश्वर गाउँपालिका-६ रामतीस्थित दुप्चेश्वर माध्यमिक विद्यालय परिसरमा वामपन्थी नेता गणेश पण्डितको अर्धकदको सालिक अनावरण गर्नुहुँदै जिल्लाको विकासप्रति सबै दलले चासो दिनुपर्ने बताउनुभयो।
काठमाडौँको टोखा हुँदै नुवाकोट आउनुभएका सभामुख घिमिरेले भन्नुभयो, “टोखा-छहरे सुरुङमार्ग निर्माणको कुरा धेरै सुनिएको छ । सुरुङमार्ग चाँडो निर्माण हुनु आवश्यक छ। सुरुङमार्ग निर्माण भएमा नुवाकोटको कायापलट हुनेछ।”

सभामुख घिमिरेले इलामका किसानको जीवनस्तर उकास्न अलैँची, अदुवा खेतीको भूमिका भएको जस्तै नुवाकोटका किसानको जीवनस्तर उकास्न पनि सुरुङमार्गको भूमिका हुने बताउनुभयो। उहाँले सुरुङमार्ग सुरुमा धेरै खर्च लाग्ने भए पनि यसले दीर्घकालीन फाइदा दिने भएकाले निर्माण आरम्भ गर्नका लागि सबैको ध्यान जानुपर्ने बताउनुभयो।
उहाँले नेपालको वामपन्थी आन्दोलनमा गणेश पण्डितको योगदान उच्च रहेको बताउनुभयो। शिक्षासेवी, राजनीतिज्ञ, वाम लोकतान्त्रिक आन्दोलनमा अगुवा पण्डितको शैक्षिक तथा भौतिक विकासको सपना पूरा गर्न सकेमात्र उहाँप्रति उचित सम्मान हुने उहाँले धारणा राख्नुभयो।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद अर्जुननरसिंह केसीले नुवाकोटको पूर्वी भेगको राजनीतिक जागरण र शैक्षिक जागरणमा गणेश पण्डितको योगदान उल्लेखनीय रहेको बताउनुभयो।
नेकपा ९माओवादी केन्द्र०का नेता तथा सांसद हितबहादुर तामाङ, सांसद विमला सुवेदी, बागमती प्रदेशसभा सदस्य राधिका तामाङ, एमालेका पूर्वसांसद नारायणप्रसाद खतिवडालगायतले पण्डितले जिल्ला र राष्ट्रको विभिन्न क्षेत्रमा पुर्याएको योगदानबारे चर्चा गर्नुभएको थियो।
एक दशकभन्दा लामो समय जिल्लाको पूर्वी भेगका विभिन्न विद्यालयमा शिक्षक भएर काम गरेको पण्डित विसं २०४२ को बमकाण्डमा पक्राउ परी १४ महिना जेल पर्नुभएको थियो।
विसं २०४८ को निर्वाचनमा नेकपा ९एमाले०को तर्फबाट नुवाकोट क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका वामपन्थी नेता पण्डितको २०७६ सालमा ७३ वर्षको उमेरमा निधन भएको थियो। पण्डित २००३ सालमा शिखरबेँसीमा जन्मिनुभएको थियो । गणेश पण्डित स्मृति केन्द्रको अगुवाइमा उहाँको सालिक निर्माण गरिएको हो।






प्रतिक्रिया