काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुबै खुट्टा नभएर पनि विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका रोल्पाका हरि बुढा मगरलाई सम्मान गर्नुभएको छ।
एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रिय कार्यालमा एक कार्यक्रमको आयोजना गरी सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान राख्न सफल मगरलाई पुष्पगुच्छासहित सम्मान गर्नुभएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उहाँको सगरमाथाको सफल आरोहण अपांगता भएका व्यक्तिहरुको मात्रै नभएर सबै नेपालीहरु र विश्वकै लागि पनि प्रेरणादायी रहेको बताउनु भयो।
मान्छे साहस, संकल्प ग¥यो भने जस्तोसुकै कठिन काम पनि गर्न सक्छ भन्ने उदाहरण उनले विश्वमा नै पेश गरेकाले पार्टीले उनलाई सम्मान गरेको पनि स्पष्ट पार्नुभयो ।
अध्यक्ष ओलीले उनको सो सफलता नेपाल र नेपालीको मात्रै सफलता नभएर विश्वकै सफलता भएको पनि उल्लेख गर्नुभयो।
अध्यक्ष ओलीले भन्नुभयो, ‘हरि बुढामगरजीको सगरमाथाको सफल आरोहण हामी सबैका लागि प्रेरणादायी छ। मानिसले साहस र संकल्प भयो भने असम्भव देखिएका चिजहरु पनि सम्भव हुन्छ। अपांगता, साधारणतया यस्तो शारिरीक अपांगता भनेको हिँडनै नसक्ने, वरपर चल्नै नसक्ने भन्ने बुझिन्छ । तर उहाँ सगरमाथा चढेर आउनु भयो । भिरैभिर, चट्टाने भिर, हिउको भिर बाटो छैन। सगरमाथा जानेहरु भन्छन् । कहिलेकहिले त्यहाँ यस्तरी लेक लाग्छ कि अनौठो हुन्छ। नआएको आवाज सुनिन्छ। कोही त्यहाँ गीत गाउने हुँदैन । तर गीत गाएको सुनिन्छ कहिलेकहिले । कहिलेकहिले त्यहाँ बस्ती हुँदैन । तर देखिन्छ आफूले । अनि, गाईडलाई सोध्यो भने गाईड हाँस्छ । किनभने त्यहाँ त्यस्तो केही पनि छैन । सामान्य अवस्थामा पनि त्यस प्रकारका कुराहरु हुन्छन । नभएको आवाज सुनिने । नभएको दृष्य देखिनेजस्ता कुराहरु हुन्छन भने उहाँ यस्तो स्थितिमा पनि सगरमाथा चढेर आउनु भएको छ ।’
रोल्पाको थबाङस्थित मिरुल घर भई बेलायती सेनामा रहँदा सन् २०१० मा अफगानिस्तानको लडाइँमा दुवै खुट्टा गुमाएका बुढामगरले यही जेठ ५ गते विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नुभएको थियो।














प्रतिक्रिया