काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद रघुजी पन्तले नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई सिफारिस गरिएको भन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाउनु भएको छ।
राष्ट्रपति कार्यालयमा थन्किएको सो विधेयक राष्ट्रपतिलाई प्रमाणिकरणका लागि सिफारिस गरिएको भन्ने प्रधानमन्त्री दाहालको अभिव्यक्ति संविधान, कानून र लोकतन्त्रको पनि भावना विपरित रहेकाले त्यसप्रति आफूहरुको आपत्ति रहेको उहाँले बताउनु भयो।
आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा सांसद पन्तले सो विधेयक तत्काल संसदमा ल्याएर पारित गराउनुपर्ने उल्लेख गर्दै त्यसका लागि आफ्नो पार्टी तयार रहेको समेत बताउनु भयो।
सांसद पन्तले संविधान विपरित हुने भएकाले राष्ट्रपति रामचन्द्र पौडेललाई पनि सो विधेयक संसदमा नआई प्रमाणीकरण नगर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीले हिजो बोलेका कुरा अत्यन्त आपत्तिजनक छन्। उहाँले नागरिकता विधेयकको बारेमा कुरा गर्नु भयो । नेपाली जनताले नागरिकता अत्यन्त छिटो नागरिकता पाउनु पर्छ । र, कतिपय नागरिकता विभिन्न कारणले नपाएर बसेका जुन मानिसहरु छन् । नागरिकता सम्बन्धि कानुन छिटो भन्दा छिटो पारित होस भन्ने हाम्रो पनि चाहना छ । त्यो विधेयक छिटो पारित होस भन्ने हाम्रो पनि इच्छा छ । तर कुनै पनि कुरालाई छिटो गर्ने नाममा असंवैधानिक काम गर्नु हुँदैन ।’




प्रतिक्रिया