काठमाडौँ-भारतको बिहार राज्यस्थित वैशाली जिल्लाको राघोपुर क्षेत्रमा गंगा नदीमा डुंगा पल्टिँदा कम्तीमा १३ बालबालिकाको मृत्यु भएको छ। छिमेकी गाउँमा आयोजित भोजमा सहभागी हुन जाने क्रममा मंगलबार भएको दुर्घटनामा सात जनाको उद्धार गरिएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार करिब २० देखि ३० जना सवार रहेको निजी डुंगा गंगा नदीमा अचानक अनियन्त्रित भई पल्टिएको थियो। डुंगामा सवार सबै बालबालिका १५ वर्ष वा सोभन्दा कम उमेरका रहेको वैशालीकी जिल्ला अधिकारी वर्षा सिंहले बताएकी छन्।
उनीहरू भगतान टोलअन्तर्गत रामपुर श्यामचन्द पञ्चायतको माता महारानी स्थाननजिक सिंहेश्वर रायको घरमा आयोजित भोजमा सहभागी हुन अर्को गाउँ जाँदै थिए। दुर्घटनापछि स्थानीय बासिन्दा र प्रशासनले तत्काल उद्धार कार्य सुरु गरेका थिए। रातभर सञ्चालन गरिएको उद्धारमा राज्य विपद् प्रतिकार्य बल (एसडीआरएफ) र स्थानीय गोताखोर परिचालन गरिएको थियो।
उद्धार गरिएका सात जनालाई उपचारका लागि नालन्दा मेडिकल कलेज तथा अस्पताल पठाइएको थियो। घाइतेमध्ये केहीलाई थप उपचारका लागि पटनासमेत रेफर गरिएको छ। दुर्घटनापछि घटनास्थल र अस्पताल पुगेकी जिल्ला अधिकारी सिंहविरुद्ध आक्रोशित स्थानीयले नाराबाजीसमेत गरेका थिए।
दुर्घटनाप्रति दुःख व्यक्त गर्दै बिहारका मुख्यमन्त्री सम्राट चौधरीले मृतकका परिवारलाई राज्य सरकारका तर्फबाट प्रतिपरिवार चार लाख भारतीय रुपैयाँ राहत दिने घोषणा गरेका छन्। उनले उद्धार कार्यलाई तीव्र बनाउन र घाइतेलाई गुणस्तरीय उपचार उपलब्ध गराउन प्रशासनलाई निर्देशनसमेत दिएका छन्।
यसैगरी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट दुर्घटनामा ज्यान गुमाउने प्रत्येक व्यक्तिका परिवारका निकटतम सदस्यलाई दुई लाख भारतीय रुपैयाँका दरले अनुग्रह सहायता उपलब्ध गराउने घोषणा गरेका छन्। घाइतेलाई जनही ५० हजार भारतीय रुपैयाँ सहयोग प्रदान गरिने प्रधानमन्त्री कार्यालयले जनाएको छ।
दुवै सरकारको घोषणाअनुसार मृतकका परिवारले राहत तथा अनुग्रह सहायता गरी कुल छ लाख भारतीय रुपैयाँ प्राप्त गर्नेछन्। प्रधानमन्त्री मोदी र मुख्यमन्त्री चौधरीले सामाजिक सञ्जाल एक्समार्फत घटनाप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन्।



प्रतिक्रिया