काठमाडौँ-पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्लास्टिकजन्य प्रदूषणबाट उत्पन्न समस्याको दिगो समाधानका लागि दृढ सङ्कल्प गर्ने समय आएको बताउनुभएको छ।
विश्व वातावरण दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै पूर्वराष्ट्रपति भण्डारीले प्लास्टिकजन्य फोहरको उचित व्यवस्थापन र पुनःप्रयोगलाई सुनिश्चित गर्न फोहर सङ्कलन तथा व्यवस्थापन पूर्वाधारलाई सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो।
पूर्वराष्ट्रपति भण्डारीले वातावरण प्रदूषणका विभिन्न कारणले मध्ये प्लास्टिक पनि भएको र यो वातावरण र मानव जीवनका लागि ठूलो खतराको रूपमा देखा परेको बताउनुभयो । उहाँले प्राकृतिक सौन्दर्य र प्रचुर स्रोतसाधनले सम्पन्न नेपाल पनि प्लास्टिक फोहरको हानिकारक प्रभावबाट अछुतो रहन नसकेको उल्लेख बताउनुभयो।
‘‘हाम्रा नदी, ताल–पोखरी, हिमाल, पहाड र सहर प्लास्टिकको बढ्दो उपस्थितिले फोहर र कुरुप बन्दैछन्, जसबाट हाम्रो पारिस्थितिकीय प्रणाली, वन्यजन्तु र मानव स्वास्थ्यका लागि गम्भीर खतरा उत्पन्न भएको छ”, उहाँले भन्नुभयो । उहाँले यति हुँदाहुँदै पनि यो निराशाको समय नभएको बरु समस्याको दिगो समाधानका लागि दृढ सङ्कल्प गर्ने समय भएको बताउनुभयो ।
“हामी सबैमिलेर यस खतराको सामना गर्न सक्छौँ, सफा एवं दिगो नेपालका लागि मार्ग प्रशस्त गर्न सक्छौँ । हामीले प्लास्टिकको न्यून प्रयोग र रिसाइकल एवं पुनः प्रयोग गर्न ठोस् कदम चाल्नै पर्दछ”, उहाँले भन्नुभयो।
यसका लागि हामीले प्लास्टिक उत्पादन, प्रयोग र फोहर व्यवस्थापनसम्बन्धी नियमको कडाइका साथ पालना गर्नुका साथै पर्यावरण अनुकूल विकल्पको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने उहाँको भनाइ छ।
वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक जनचेतना जगाउने उद्देश्यका साथ संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष जुन ५ लाई ‘विश्व वातावरण दिवस’का रूपमा मनाउन सुरु गरिएको हो।
यो वर्ष ‘प्लास्टिक प्रदूषणको समाधान’भन्ने मूल विषय र ‘प्लास्टिक प्रदूषणलाई हराऔँ’ भन्ने अभियान नाराका साथ विश्वभर यो दिवस मनाइँदैछ।
नेपालमा पनि हामी ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने राष्ट्रिय सङ्कल्पका साथ यो दिवस मनाउन लागिएको छ।






प्रतिक्रिया